लुम्बिनीको शीतभण्डारमा ७२ लाख भ्रष्टाचार, पूर्वसचिवसहित १६ जनाविरुद्ध मुद्दा

काठमाडौं । शीतभण्डारको झुट्टा कार्यसम्पादन प्रतिवेदन तयार गरी करिब ७२ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको आरोपपत्रअनुसार शीतभण्डार निर्माणका लागि नौवटा सहकारी संस्थाहरूले संयुक्त लगानी गर्ने निर्णय भएको थियो। उक्त योजनाअनुसार ५०० मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि प्रक्रिया, लागत अनुमान र कार्यान्वयनमै गम्भीर अनियमितता भएको पाइएको अख्तियारको दाबी छ।
आयोगका अनुसार शीतभण्डार निर्माणका लागि गरिएको परामर्श सेवा, नापजाँच, डीपीआर निर्माण तथा मूल्यांकनलगायतका काममा अस्वाभाविक रूपमा लागत बढाइएको थियो। सार्वजनिक खरिद प्रक्रियामा खुला प्रतिस्पर्धा नगरिएको र आवश्यक कानुनी प्रक्रिया पूरा नगरी डीपीआर तथा अन्य कागजात स्वीकृत गरी सोझै खरिद गरिएको आरोप पनि लगाइएको छ।
अनुसन्धानका क्रममा प्राविधिक परीक्षण, अनुगमन र आवश्यक चेकजाँचबिना नै बदनियतपूर्वक ७१ लाख ९७ हजार ९८० रुपैयाँ ६ पैसा भुक्तानी गरिएको आयोगले जनाएको छ। यसरी गरिएको भुक्तानी गैरकानुनी भएको निष्कर्ष निकाल्दै अख्तियारले भ्रष्टाचार भएको ठहर गरेको हो।
त्यसैगरी, परियोजनाअन्तर्गत निर्माण गरिएको शीतभण्डार गुणस्तरहीन रहेको र हाल प्रयोगविहीन तथा जीर्ण अवस्थामा फेला परेको पनि अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। सरकारी अनुदानमा निर्माण गरिएको संरचना उद्देश्यअनुसार सञ्चालनमा नआएको र लगानीको दुरुपयोग भएको आयोगको ठहर छ।
मुद्दामा तत्कालीन सचिव बैकुण्ठ अधिकारीसँगै तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल, सह–लेखापाल अजय मिश्र पनि प्रतिवादीका रूपमा रहेका छन्।
यस्तै, सहकारी संस्थाहरूका तर्फबाट भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक अशोक कुमार तिवारी, तत्कालीन अध्यक्ष जयराम गडेरिया, कृष्ण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष अशोक कुमार त्रिपाठी पनि अभियोगमा समेटिएका छन्।
नवदुर्गा स्वावलम्बन बहुउद्देश्य सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष दुर्गाप्रसाद कुर्मी, व्यवस्थापक जितेन्द्र यादव, वैष्णो माता स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक कृष्णकुमार सिंह, जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष फुलमन भर, गौतम बुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष ओमप्रकाश गुप्ता पनि प्रतिवादी बनेका छन्।
त्यसैगरी मर्चवारी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष स्वर्गीय श्यामसुन्दर यादवको हकवाला श्रीमती इनरावती यादव, जनउत्थान स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष स्वर्गीय कतबारू गोसाईको हकवाला श्रीमती राजपति गोसाई तथा फर्म सञ्चालक सुगम कोइरालामाथि पनि भ्रष्टाचार अभियोग लगाइएको छ।
szEwS2










