इन्धनमा पुनः मूल्यवृद्धि, डिजेल–मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगमले २०८३ वैशाख ३ गते बिहान १२ः०१ बजेदेखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको हो।
निगमका अनुसार मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ। सोही कारण इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरीद मूल्यअनुसार स्वचालित मूल्य प्रणालीअनुसार पूर्ण रूपमा मूल्य समायोजन गर्न कठिन भएको जनाएको छ।
हालको अवस्थामा निगमले पेट्रोलमा प्रतिलिटर २.३२ रुपैयाँ, डिजेलमा ८७.९९ रुपैयाँ, मट्टितेलमा ३६.७० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर ३३१.२५ रुपैयाँ घाटा व्यहोर्दै आएको जनाएको छ। यसअनुसार निगमलाई प्रत्येक १५ दिनमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा भइरहेको छ।
नयाँ निर्णयअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य वृद्धि गरिएको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ। पेट्रोलको मूल्य भने यथावत राखिएको निगमले जानकारी दिएको छ। नयाँ मूल्यअनुसार अब डिजेल तथा मट्टितेल पहिलो वर्गमा प्रतिलिटर २३४.५० रुपैयाँ, दोस्रो वर्गमा २३६ रुपैयाँ र तेस्रो वर्गमा २३७ रुपैयाँ कायम भएको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य सबै वर्गमा समान २५६ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ।
मूल्य समायोजनपछि पनि डिजेलमा प्रतिलिटर ९९.१६ रुपैयाँ घाटा रहने निगमले जनाएको छ। हालको मूल्य समायोजनपछि पनि निगमको पाक्षिक (१५ दिन) घाटा करिब ५ अर्ब ७५ करोड रुपैयाँ रहने जानकारी दिएको छ।












