लगानीकर्ताले अब चौबिसै घण्टा शेयर खरिद बिक्रीको अर्डर दिन सक्ने

३ बैशाख २०८३, बिहीबार १०:०७

काठमाडौं । शेयर लगानीकर्ताले चौबिसै घण्टा सेयर खरिद बिक्रीको अर्डर दिन सक्ने भएका छन् । नेप्सेको कारोबार विनियमावली प्रस्ताव धितोपत्र बोर्डले स्वीकृत गरेको छ । जुन प्रस्तावअनुसार खरिद बिक्री आदेशका लागि नियमित कारोबारको समय पर्खनु पर्दैन ।

नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ लाई समय सापेक्ष बनाई संशोधन प्रस्ताव धितोपत्र बोर्ड पठाएको थियो । नेप्सेले प्रस्ताव गरेका केही व्यवस्थामा परिमार्जन गरेर बोर्डले स्वीकृत गरेको छ ।

नेप्सेले प्रस्ताव गरेअनुसारको सर्किट ब्रेक, कम्पनीको सेयर मूल्यमा उतारचढाव सीमा, कारोबार आदेश गर्न सकिने समयमा केही हेरफेर गरेर सञ्चालक समितिले स्वीकृत गरेको बोर्डका एक अधिकारीले बताए।

‘नेप्सेले तीन वटा सर्किटको प्रस्ताव गरेको थियो,’ ती अधिकारीले भने, ‘बोर्डले स्वीकृत गर्दा २ वटामा सीमित गरेको छ, त्यसैगरी कारोबारका लागि अर्डर हाल्न मिल्ने समय कारोबार समयबाहेक साँझ ६ बजेदेखि बिहान ६ बजे प्रस्ताव गरेकोमा बोर्डले त्यसलाई चौबिसै घण्टा बनाएको हो ।’

कारोबार समयका कारण विदेशमा रहेका कतिपय नेपालीले दोस्रो बजारमा लगानी गर्न नपाएको गुनासो सुनवाई गर्न नियमित कारोबार समयपछि पनि अर्डर गर्न सकिने व्यवस्था गरेको ती अधिकारीको भनाइ छ । ‘नेप्सेको नियमित कारोबार दिउँसो ३ बजे बन्द हुन्छ, नयाँ व्यवस्थापछि बजार बन्द भए पनि खरिद बिक्री आदेश प्रविष्ट हुन्छ,’ उनले भने, ‘धितोपत्र प्राथमिक बजारका लगानीकर्ता दोस्रो बजारमा प्रवेश गराउनलाई पनि ‘अफ आवर’ खरिदरबिक्री आदेशको व्यवस्था गरिएको हो ।’

नेप्सेको नियमित कारोबार सकिएपछि खरिदरबिक्री आदेश दिनेले सोही दिनको अन्तिम मूल्यका आधारमा तोकिए अनुसार मूल्य घटाइ वा बढाइ खरिद बिक्री आदेश दिन सक्ने व्यवस्था संशोधित विनियमावलीमा गरिएको छ । नेप्सेको नियमित कारोबार बिहान ११ बजे सुरु भई दिउँसो ३ बजे सकिन्छ । संशोधित विनियमावली अनुसार नियमित कारोबार समय बाहेक कुनै पनि समयमा अनलाइन खरिद वा बिक्री आदेश गर्न सकिन्छ ।

नियमित कारोबार बाहेकको समयमा खरिदरबिक्री आदेश दिँदा कम्पनीहरूको सेयर मूल्यको हकमा अन्तिम मूल्यमा २ प्रतिशत बढी वा घटी गरेर मूल्य तोक्न सकिन्छ । नेप्सेले पनि आफ्नो कारोबार प्रणाली सो अनुसार तयार गरिसकेको छ । हाल नेप्सेमा बिहान १० स् ३० देखि १० स् ४५ सम्म प्रि ओपन कारोबार हुन्छ भने ११ बजेदेखि ३ बजेसम्म नियमित कारोबार हुन्छ । हाल सो समयमा मात्र अर्डर दिन सकिने व्यवस्था छ ।

नयाँ व्यवस्थापछि गैरआवासीय नेपालीलाई सेयर कारोबार गर्न पनि सहज हुने बोर्डका ती अधिकारीको भनाइ छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पनि धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीलाई कारोबार गर्न अनुमति दिन सुझाएको छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ दफा ९ र १० परिमार्जन गरी, पूँजी लगानी कोष खडा नगरिकन व्यक्तिगत रुपमा नै गैरआवासीय नेपाली नागरिकता परिचयपत्रको आधारमा कारोबार गर्न दिने व्यवस्था गर्न सुझाएको छ । त्यसैगरी आयोगले दोस्रो बजारमा सेयर खरिदका लागि लगानीकर्ताले भित्र्याएको रकमको एक वर्षमा दुई पटक ५०–५० प्रतिशतसम्म रकम फिर्ता लान सक्ने व्यवस्था गर्नुपर्ने सुझाएको छ । यो व्यवस्था पनि धितोपत्र बोर्डले गरेको खण्डमा पूँजी बजारमा गैरआवसीय नेपालीको लगानी आउने सम्भवाना उच्च रहन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*