सुदूरपश्चिममा स्वास्थ्य बीमा: नाम मात्रै बढ्यो, नवीकरण घट्यो

३ बैशाख २०८३, बिहीबार ११:०९

काठमाडौँ ।  सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रमको पहुँच विस्तार भए पनि यसको निरन्तरता भने चुनौतीपूर्ण बन्दै गएको देखिएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार प्रदेशको कुल २६ लाख ९४ हजार ७८३ जनसङ्ख्यामध्ये २६ प्रतिशत अर्थात् सात लाख तीन हजार ९०५ नागरिक यस कार्यक्रममा आबद्ध भएका छन्।

नेपाल सरकारले नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित विसं २०७२ मा सुरु गरेको यो कार्यक्रमले प्रारम्भिक चरणमा उल्लेखनीय सहभागिता आकर्षित गरेको थियो। हालसम्म दुई लाख २८ हजार ३९८ परिवार बिमा कार्यक्रममा आबद्ध भएका छन्। तीमध्ये एक लाख ५४ हजार ५०५ परिवार विपन्न, सीमान्तकृत तथा जोखिममा रहेका लक्षित वर्गका छन् भने ७३ हजार ८९३ परिवार अन्य श्रेणीका रहेका छन्।

तर, पछिल्लो तथ्याङ्कले कार्यक्रमप्रति नागरिकको आकर्षण घट्दै गएको संकेत गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को चैतसम्म सक्रिय रूपमा बिमा नवीकरण गर्ने परिवारको संख्या ७९ हजार १९५ मा सीमित रहेको छ, जुन कुल बीमित परिवारको तुलनामा निकै कम हो। यसले एकातिर कार्यक्रममा आबद्धता बढे पनि निरन्तरतामा समस्या रहेको स्पष्ट पार्छ।

अघिल्ला वर्षहरूको तथ्याङ्क हेर्दा पनि सहभागितामा क्रमशः गिरावट देखिन्छ। आर्थिक वर्ष २०७९/८० मा एक लाख ३४ हजार ६२६ परिवार आबद्ध भएका थिए भने २०८०/८१ मा यो संख्या घटेर एक लाख २६ हजार ४५ मा पुगेको थियो। त्यसपछि २०८१/८२ मा एक लाख १४६ हजार ८९८ परिवार मात्रै कार्यक्रममा जोडिएका थिए।

कार्यक्रमको सुरुवात कैलाली जिल्लाबाट भएको थियो र अहिले प्रदेशका सबै जिल्लामा विस्तार भइसकेको छ। न्यून शुल्कमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यअनुसार पाँच सदस्यसम्मको परिवारले वार्षिक ३,५०० रुपैयाँ तिरेर निश्चित रकमसम्मको उपचार सुविधा पाउँछन् भने थप सदस्यका लागि प्रतिव्यक्ति ७०० रुपैयाँ शुल्क तोकिएको छ।

यद्यपि, कार्यान्वयन पक्षमा विभिन्न चुनौतीहरू देखिएका छन्। भौगोलिक विकटता, जनचेतनाको कमी, सेवा गुणस्तरप्रति असन्तुष्टि तथा स्थानीय तहसँग पर्याप्त समन्वय नहुनु कार्यक्रमको प्रभावकारितामा बाधक बनेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*