हुन्डाई ब्रान्डका ४ मोडलमा प्राविधिक त्रुटि रहेको स्वीकार, ३ लाख सवारी फिर्ता

काठमाडौँ विश्वप्रसिद्ध अटोमोबाइल कम्पनी हुन्डाईले आफ्ना केही अत्याधुनिक मोडेलहरूमा देखिएको गम्भीर सुरक्षाजन्य त्रुटिलाई स्वीकार गर्दै ठूलो स्तरमा सवारी फिर्ता (रिकल) गर्ने निर्णय गरेको छ। प्राविधिक त्रृटि स्वीकार गरेसँगै कम्पनीले सन् २०२६ अप्रिल १० मा ३ लाख सवारीसाधन सुरक्षा जाँचका लागि अमेरिकाको बजारबाट फिर्ता बोलाइएको हो ।
अमेरिकाको राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनका अनुसार कुल २ लाख ९४ हजार १२८ सवारीसाधन प्रभावित भएका छन्। यो समस्या विशेषगरी अगाडिको सिट बेल्ट प्रणालीसँग सम्बन्धित रहेको पाइएको छ जसले यात्रु सुरक्षाको आधारभूत संरचनामै प्रश्न उठाएको छ।
अगाडिको सिट बेल्टलाई सिट फ्रेमसँग जोड्ने ‘एङ्कर’ भागमा कमजोरी देखिएको छ। दुर्घटनाको अवस्थामा यही एङ्कर छुट्टिन सक्ने जोखिम रहेको बताइएको छ। यदि यस्तो अवस्था उत्पन्न भयो भने सिट बेल्टले यात्रुलाई पर्याप्त रूपमा थाम्न नसक्ने र गम्भीर चोटपटक वा ज्यान जाने खतरा समेत बढ्ने चेतावनी दिइएको छ।
रिकल सूचीमा सन् २०२३ देखि २०२५ सम्म उत्पादन भएका हुन्डाई आयोनिक ६, सन् २०२४ देखि २०२६ सम्मका हुन्डाई सान्ता फे र यसको हाइब्रिड संस्करण हुन्डाई सान्ता फे हाइब्रिड साथै सन् २०२३ देखि २०२६ सम्मका जेनेसिस जी९० मोडेलहरू समावेश छन्।
यीमध्ये सबैभन्दा ठूलो हिस्सा हुन्डाई सान्ता फे र यसको हाइब्रिड भेरियन्टले ओगटेका छन्। तथ्यांकअनुसार हुन्डाई सान्ता फे का १ लाख ५८ हजार १ वटा सवारी र हुन्डाई सान्ता फे हाइब्रिडका ९५ हजार २६८ वटा युनिट प्रभावित भएका छन्। अत्याधुनिक प्रविधि र डिजाइनका कारण चर्चित यी मोडेलहरू सुरक्षाजन्य कारणले अहिले कम्पनीको गम्भीर परीक्षणको घेरामा परेका छन्।
त्यस्तै, नवप्रविधि र इलेक्ट्रिक युगको प्रतिनिधि मानिने हुन्डाई आयोनिक ६ पनि यो सूचीमा परेको छ। सन् २०२३ मा विश्व कार अफ द इयरको उपाधि जितेर अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको यो मोडेल अहिले सिट बेल्ट एङ्करको सम्भावित कमजोरीका कारण पुनः परीक्षणको प्रक्रियामा गएको छ।
समस्या ‘स्न्याप अन एङ्कर’ मा केन्द्रित छ जसले सिट बेल्टलाई सिट फ्रेमसँग मजबुत रूपमा जडान गर्नुपर्ने हुन्छ। तर प्रभावित सवारीमा यो जडान कमजोर वा ठीकसँग नलागेको हुन सक्ने आशंका गरिएको छ। दुर्घटनाको क्षणमा अत्यधिक बल पर्दा यो भाग छुट्टिन सक्ने सम्भावनाले यात्रु सुरक्षालाई प्रत्यक्ष जोखिममा पार्ने देखिएको छ।
अमेरिकी नियामक निकायले जारी गरेको विवरणमा कम्पनीले आफैंले समस्या स्वीकार गर्दै तत्काल सुधारात्मक कदम अघि बढाएको उल्लेख छ। सवारीधनीहरूलाई निःशुल्क निरीक्षण र आवश्यक परेमा पार्ट्स प्रतिस्थापन गरिने बताइएको छ।
विश्व बजारमा विश्वसनीयता र प्रविधिको प्रतीक मानिँदै आएको हुन्डाईका लागि यो रिकल प्राविधिक चुनौतीका रूपमा देखिएको छ। नेपाली बजारमा लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई ब्रान्ड बिक्री वितरण गर्दै आइरहेको छ ।
यो पनि:-
गुणस्तरीय गाडीको नाममा धोका: बिच सडकमै जल्छन् हुन्डाई ब्रान्ड, ढाकछोपमा ब्यस्त बिक्रेता कम्पनी
थानकोटमा पार्किङ मै जलेर खरानी बन्यो ‘हुन्डाई क्रेटा’, गुणस्तरमा गम्भीर प्रश्न
गुणस्तरहीन हुन्डाई ‘आइओनिक ५’ धमाधम बिक्री गर्दै लक्ष्मी मोटर्स, ग्राहकको सुरक्षामा खतरा
हुन्डाईका गाडीमा अर्को समस्या रहेको स्वीकार, फ्युल पम्पका कारण आगलागीको जोखिम
प्राविधिक समस्यापछि अमेरिकाबाट हुन्डाईका १ लाख ४५ हजार ईभी गाडी फिर्ता
हुन्डाई र कियाका ईभी गाडीमा गम्भीर समस्या, दुर्घटनाको जोखिम बढ्ने सवारी धमाधम बिक्री गरिदैं











