बीमकको स्थिर सम्पत्ति खरिद तथा बिक्रि सम्बन्धी निर्देशिका जारी, प्राधिकरणको कडाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको स्थिर सम्पत्ति खरिद तथा बिक्रि सम्बन्धी निर्देशिका जारी गरेको छ।
प्राधिकरणको निर्देशिका, २०८२ का अनुसारे विशेषगरी प्रविधिमैत्री अभिलेखीकरण र संस्थागत सुशासन र निगरानीमा बढी ध्यान दिइएको छ।
प्राधिकरणको निर्देशिका अनुसार कार्यालय प्रयोजनबाहेकलागि घरजग्गा खरिद गर्न कम्पनीहरुको पूर्वसञ्चालन खर्च पूर्ण रुपमा अपलेखन भएको हुनुपर्ने र सर्वसाधारणमा शेयर जारी गरी पहिलो एजीएम सक्नुपर्ने व्यवस्था राखिएको छ।
साथै दुई आर्थिक वर्षदेखि नोक्सानी नभएको हुनुपर्ने र न्यूनतम १३० प्रतिशत सोल्भेन्सी मार्जिन कायम भएको हुनुपर्ने व्यवस्था राखिएको छ।
त्यस्तै, बीमा कम्पनीहरुले आफ्नो नेटवर्थको ३० प्रतिशत सीमाभित्र रहेर मात्र स्थिर सम्पत्ति खरिद गर्न पाउने मापदण्ड राखिएको छ।यदि लगानीका लागि किनेको घरजग्गा ५ वर्षसम्म प्रयोगमा नआएमा अनिवार्य रुपमा ‘बिक्री योजना’ प्राधिकरणमा बुझाउनुपर्ने नियम राखिएको छ।
यसका साथै नेटवर्थको १० प्रतिशतभन्दा बढी मूल्यको सम्पत्ति एकै वर्षमा बिक्री गरेमा प्राधिकरणलाई जानकारी दिनुपर्ने नियम लागू हुने भएको छ।











