जीवन बीमा कम्पनीहरुको व्यवसाय ११% ले बढ्यो, वृद्धिदरमा आक्रामक आइएमई–रिलायबल र सिटिजन

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा एक खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
विवरण अनुुसार गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय ११.३१ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेक थिए ।
कुल बीमा शुल्क आर्जनको आधारमा नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छन् भने बृद्धिदरका आधारमा आइएमई लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ अगाडि रहेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा आफ्नो व्यवसाय ११.६४ प्रतिशतले बृद्धि गर्दै ३६ अर्ब ८६ करोड रुपैयाँ पुराउन सफल भएको छ ।
दोस्रो नम्बरमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले गत आवको तुलनामा ९.२० प्रतिशतले बढाएर १७ अर्ब ७ करोड रुपैयाँ र एलआइसी नेपालले ८.०८ प्रतिशतले बढाएर १५ अर्ब १७ करोड रुपैयाँ पुर्याएको छ ।
त्यस्तै, क्रमशः हिमालयन लाइफ इन्स्योरेन्सको ब्यवसाय ५.३१ प्रतिशतले बढेर १३ अर्ब २६ करोड, राष्ट्रिय जीवन बीमाको ११.७० प्रतिशतले बढेर ९ अर्ब ११ करोड, सूर्यज्योति लाइफको ११.६७ प्रतिशतले बढेर ८ अर्ब ५५ करोड, एशियन लाइफको १२.११ प्रतिशतले बढेर ७ अर्ब २४ करोड, सिटिजन्स लाइफको १९.२६ प्रतिशतले बढेर ६ अर्ब ६ करोड, सानिमा रिलायन्स लाइफको ११.९२ प्रतिशतले बढेर ५ अर्ब ४२ करोड र आइएमई लाइफको ३१.२३ प्रतिशतले बढेर ४ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा मेट लाइफको १० प्रतिशतले बढेर ४ अर्ब ९० करोड, रिलायबल नेपाल लाइफको २० प्रतिशतले बढेर ४ अर्ब ४४ करोड, प्रभु महालक्ष्मी लाइफको १४ प्रतिशतले बढेर ४ अर्ब १९ करोड र सन नेपाल लाइफको २.८० प्रतिशतले बढेर ३ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन पुगेको हो ।











