टक्सार पिखुवा खोलाले वैशाख २३ गतेदेखि सर्वसाधारणमा आईपीओ खुला गर्ने

११ बैशाख २०८३, शुक्रबार ०७:०४

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले वैशाख २३ गतेदेखि सर्वसाधारणमा आईपीओ खुला गर्ने भएको छ। कम्पनीले प्रथम चरणको आईपीओ बाँडफाँड गरिसकेकोले अब दोस्रो चरणमा सर्वसाधारणमा समेत आईपीओ खुला गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

जसमध्ये प्रथम चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ आयोजना प्रभावितलाई र सार्वजनिक निष्काशन गरिने शेयरको १० प्रतिशत अर्थात ३ करोड ३ लाख ६ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड भइसकेको छ।

कम्पनीले अब ५ प्रतिशत अर्थात १ करोड ५१ लाख ५३ हजार ३०० रुपैयाँ बराबरको १ लाख ५१ हजार ५३३ कित्ता आईपीओ सामूहिक लगानी कोषका योजनाहरूका लागि र २ प्रतिशत अर्थात ६० लाख ६१ हजार ३०० रुपैयाँ बराबरको ६० हजार ६१३ कित्ता आईपीओ कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गर्न लागेको हो।

यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। आवेदन वैशाख २३ गतेदेखि दिन सकिनेछ भने निष्काशन बन्द छिटोमा वैशाख २८ गते हुनेछ भने उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा मात्रै ढिलोमा जेठ ६ गते निष्काशन बन्द हुनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*