९ वाणिज्य बैंकको खराब कर्जा ५% भन्दा माथि, एभरेष्टको सबैभन्दा कम हुँदा एनआईसीको उच्च, कुनको कति?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकको खराब कर्जा (एनपिएल) ५ प्रतिशत नाघेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको विवरण अनुसार खराब कर्जा बढेर ५.२५ प्रतिशत पुगेको हो ।
गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकहरुको खराब कर्जा ०.४२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकहरुको खराब कर्जा ४.८२ प्रतिशत रहेको थियो ।
यसअवधिमा १० वाणिज्य बैंकको खराब कर्जा घटेको छ भने १० वटैको बढेको देखिएको छ। समिक्षा अवधिमा ९ बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि रहेको छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा चालु सोहि अवधिमा खराब कर्जा एभरेष्ट बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक र नेपाल एसबीआई बैंकले घटाउन सफल भएका छन् । अन्य सबै बैंकको बढेको छ ।

चालु आर्थिक वर्षको ९ महिनासम्म आइपुग्दा सर्वाधिक खराब कर्जा हुनेमा एनआईसी एशिया बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको खराब कर्जा ३.१० प्रतिशतले बढेर ८.८५ प्रतिशत पुगेको हो ।
त्यस्तै, प्रभु बैंकको खराब कर्जा ३.७५ प्रतिशतले बढेर ८.८४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २.३५ प्रतिशतले बढेर ८.४१ प्रतिशत र हिमालयन बैंकको ०.३० प्रतिशतले बढेर ७.९८ प्रतिशत पुगेको हो ।
सबैभन्दा कम खराब कर्जा हुनेमा एभरेष्ट बैंक रहेको छ। बैंकको खराब कर्जा ०.०३ प्रतिशतले घटेर ०.६१ प्रतिशत पुगेको हो ।
साथै, स्टान्र्डड चार्टड बैंकको १.८१ प्रतिशत, नेपाल एसबिआई बैंकको २.५३ प्रतिशत, सिद्धार्थ बैंकको ३.७१ प्रतिशत, सानिमा बैंकको ३.९९ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.०१ प्रतिशत, नबिल बैंकको ४.३७ प्रतिशत रहेको छ ।











