तेस्रो त्रैमाससम्ममा बीमा पोलिसी सरेण्डर रकम १० अर्ब नाघ्यो, नविकरण नगर्नेको संख्या १२ लाख २५ हजार

१६ बैशाख २०८३, बुधबार १३:३४

काठमाडौं । जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रकम १० अर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुबाट १० अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बाहिरिएको हो ।

उक्त सरेण्डर रकम गत आवको सोही अवधिसम्मको तुलनामा भने ५.४२ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्ममाजीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत ११ अर्ब ९ करोड ७१ लाख रुपैयाँ बाहिरिएको थियो ।

सरेण्डर रकमसँगै बीमालेख त्याग गर्नेको संख्या पनि गत आवको तुलनामा घटेको छ । गत आवको चैत मसान्तसम्ममा ८० हजार १८७ जनाले बीमालेख सपर्मण गरेकोमा चालु आवको सोहि अवधिमा भने ६८ हजार ८५५ जनाल मात्रै पोलिसी समर्पण गरेका छन् । यस हिसाबमा बीमालेख समर्पण संख्या १४.१३ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बीमकहरुमा व्यतित बीमालेख रकम (नविकरण नगरिएको रकम) भने २.९७ प्रतिशतले बढेको छ । गत आवको चैत मसान्तसम्ममा बीमालेख नविकरण नगरिएको रकम ३६ अर्ब ८७ करोड २० लाख रुपैयाँ रहेकोमा चालु आवको सो अवधिसम्म ३७ अर्ब ७३ करोड ४ लाख रुपैयाँ रहेको छ ।

यता व्यतित बीमालेखको संख्या भने १.६७ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा १२ लाख २५ हजार ४५४ वटा बीमा पोलिसीहरु रिन्यू भएका छैनन् । गत आवको सोही अवधिसम्म यस्तो संख्या १२ लाख ४६ हजार ३०१ रहेको थियो ।

जीवन बीमा कम्पनीहरुमा पोलिसी सरेण्डरदर कम भएपनि व्यतित भएका बीमालेख संख्या र रकम बढ्दै गइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*