सूर्यज्योति लाइफको नाफा ११ प्रतिशत बढ्यो, अन्य सूचकको अवस्था कस्तो?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा अधिकांश वित्तीय सूचकहरूमा वृद्धि भएको छ।
गत आवको चैत मसान्तसम्म २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा ११.६९ प्रतिशतको वृद्धि सहित ३३ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। कम्पनीको आम्दानीमा वृद्धि भएको कारण नाफा बढ्न मद्दत पुगेको हो।
गत आवको तेस्रो त्रैमाससम्म ७ अर्ब ५१ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा १४.६७ प्रतिशतको वृद्धि सहित ८ अर्ब ६१ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १० अर्ब ४८ करोड १९ लाख रुपैयाँबाट १०.६४ प्रतिशतले बढेर ११ अर्ब ५९ करोड ७० लाख रुपैयाँ नाघेको छ भने कुल खर्च ९ अर्ब ९१ करोड ८८ लाख रुपैयाँबाट ११.१० प्रतिशतले बढेर ११ अर्ब २ करोड २ लाख रुपैयाँ नाघेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७.८७ रुपैयाँबाट बढेर ८.७९ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२५.४९ रुपैयाँ रहेको छ। चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ४५ करोड ३० लाख रुपैयाँ र जगेडा कोषमा ५३ करोड ४० लाख रुपैयाँ सञ्चिति रहको छ।











