लुटतन्त्र र दोहनका प्रतिवेदन पढ्दा आङ सिरिङ्ग हुन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले संस्थागत कब्जा, नीतिगत सेटिङ र ‘एलिट’ वर्गको अपवित्र गठजोड तोड्न वर्तमान सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। उनका अनुसार विगतमा राज्य संरचनाभित्र भएको दोहन र लुटतन्त्रका विवरणहरू अहिले अध्ययन गर्दा नै आफूलाई आङ सिरिङ्ग हुने अनुभव हुने गरेको छ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारलाई देशमा नयाँ सुरुवातको संकेत दिने प्रयासमा रहेको बताए। उनले विगतका कमजोरी र गलत अभ्यासहरू दोहोरिन नदिन निजी क्षेत्रलाई समेत जिम्मेवार बन्न आग्रह गरे।
अर्थमन्त्री वाग्लेले केही निजी क्षेत्रका आवाजहरूले सरकार कठोर बन्न खोजेको हो कि भन्ने आशंका व्यक्त गरे पनि त्यसमा कुनै सत्यता नरहेको दाबी गरे। उनका अनुसार सरकारको उद्देश्य कुनै पक्षलाई लक्षित गर्ने नभई प्रणालीगत सुधार गर्नु हो।
उनले भने, ‘अर्थमन्त्रीको कुर्सीमा बसेर मैले यो देशमा भएको दोहन र लुटतन्त्रका रिपोर्टहरू पढ्दा कहिलेकाहीँ म सिरिङ्ग हुन्छु।’ उनका अनुसार यस्ता विकृति अन्त्य गर्न राज्य संयन्त्र र निजी क्षेत्र दुवैको सहकार्य आवश्यक छ।
वाग्लेले रास्वपा नेतृत्वको वर्तमान सरकारले ‘फोहोर सफा गर्ने’ अभियान अघि बढाइरहेको उल्लेख गर्दै त्यसलाई सावधानीपूर्वक र विवेकपूर्ण ढंगले अघि बढाइने स्पष्ट पारे। उनले अपराधीहरूलाई बचाउने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनीसमेत दिएका छन्।











