रुकुम पूर्वमा कृषि योजनाको नाममा २१ लाख भ्रष्टाचार

काठमाडौं । रुकुम (पूर्वी भाग) को पुथा उत्तरगङ्गा गाउँपालिका–१२, छमारीमा सञ्चालन भएका दुई छुट्टाछुट्टै कृषि योजनामा अनियमितता भएको पुष्टि भएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
पहिलो मुद्दा आ.व. २०७७/०७८ मा सञ्चालन गरिएको बंगुर पकेट विकास कार्यक्रमसँग सम्बन्धित छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत संघीय सशर्त अनुदानबाट बजेट सुनिश्चित भई २०७७ चैत २५ गते सम्झौता गरिएको उक्त योजनामा फिल्डमा नभएको काम नापी किताबमा भएको देखाई बढी मूल्याङ्कन गरिएको अनुसन्धानबाट खुलेको छ। यसरी ९ लाख ६७ हजार ३७८ रुपैयाँ बराबरको रकम अनियमित रूपमा भुक्तानी गरिएको आरोपपत्रमा उल्लेख छ।
दोस्रो मुद्दा सोही स्थानमा सञ्चालन गरिएको कागती पकेट विकास कार्यक्रमसँग सम्बन्धित रहेको छ। सो योजनामा पनि इस्टिमेट अनुसारको काम नगरी नभएको काम भएको देखाई बढी मूल्याङ्कन गरी ११ लाख ६९ हजार ७६० रुपैयाँ भुक्तानी गरिएको पाइएको छ।
दुवै योजनामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादव, इन्जिनियर खुविराज शाही, सब–इन्जिनियर कमल प्रसाद के.सी., योजना शाखा प्रमुख चित्र बहादुर के.सी., सह–लेखापाल नवराज खड्का, वडा नं. १२ का अध्यक्ष गंगा बहादुर पुन तथा सम्बन्धित कृषक समूह/कम्पनीका अध्यक्ष सुजन पुनलगायतलाई प्रतिवादी बनाइएको छ।
कागती योजनामा कृषि प्राविधिक ओम प्रकाश ओली पनि प्रतिवादीका रूपमा समावेश गरिएका छ। उनीहरूले आपसी मिलेमतोमा नभएको कामलाई कागजमा देखाई सरकारी रकम हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो।












