चीनका दुई पूर्व रक्षामन्त्रीलाई भ्रष्टाचार मुद्दामा मृत्युदण्ड

काठमाडौँ । चीनमा पूर्व रक्षामन्त्रीहरूमाथि भ्रष्टाचारसम्बन्धी मुद्दामा कठोर सजाय सुनाइएको छ। तर सो सजाय तत्काल कार्यान्वयन नभई दुई वर्षपछि जन्मकैदमा रूपान्तरण हुने निर्णय गरिएको सिन्ह्वाले जनाएको छ।
पूर्व रक्षामन्त्रीहरू वेइ फेङहे र ली साङ्फुलाई घुस लिने तथा भ्रष्टाचारसँग सम्बन्धित विभिन्न आरोपमा सैन्य अदालतले दोषी ठहर गरेको हो। उनीहरूमाथि लगाइएको आरोप अनुसार वेइ फेङहेले घुस लिएको र ली साङ्फुले घुस स्वीकार गर्नुका साथै अनियमित प्रस्तावहरूलाई समेत स्वीकार गरेको उल्लेख गरिएको छ।
यो प्रकरण राष्ट्रपतिको नेतृत्वमा चलाइएको भ्रष्टाचारविरोधी अभियान अन्तर्गतको सबैभन्दा कडा कारबाहीमध्ये एक मानिएको छ। अदालतको फैसलापछि उनीहरूको सबै राजनीतिक अधिकार जीवनभरका लागि खोसिएको छ भने सम्पत्ति पनि राज्यले जफत गरेको जनाइएको छ।
सजाय जन्मकैदमा रूपान्तरण भएपछि उनीहरू जीवनभर जेलमै रहनेछन्। सन् २०१२ यता सी चिनफिङले थालेको भ्रष्टाचारविरोधी अभियानमा सैन्य उच्च अधिकारीहरूविरुद्ध सुनाइएको यो सबैभन्दा कठोर सजायमध्ये एक भएको बताइएको छ।












