यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

काठमाडौं । सरकारले विदेशस्थित १५ जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। उनका अनुसार विभिन्न देशहरूमा कार्यरत १५ जना अनररी कन्सुल जनरल तथा कन्सुललाई जिम्मेवारीबाट हटाउने निर्णय गरिएको हो।
मन्त्रिपरिषद् बैठकले यससँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दुई अन्तर्राष्ट्रिय श्रम संगठनका महत्वपूर्ण दस्तावेज अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ।
बैठकले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ अनुमोदनका लागि संघीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गरेको हो। त्यस्तै, श्रम निरीक्षण सम्बन्धी महासन्धि १९४७ नम्बर ८१ लाई पनि अनुमोदनका लागि संसदमा पेश गर्न सरकारबाट स्वीकृति दिइएको प्रवक्ता पोखरेलले बताए।













