धनुषामा सुकुमबासी आक्रोशित: सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि टायर बालेर प्रदर्शन

२५ बैशाख २०८३, शुक्रबार १४:४०

काठमाडौँ । स्थानीय तहले सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेपछि धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा सुकुमबासीहरूले आन्दोलन सुरु गरेका छन्। वैकल्पिक व्यवस्था बिना उठिबास लगाउन खोजिएको भन्दै उनीहरूले शुक्रबार सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका हुन्।

नगरपालिकाले सार्वजनिक जग्गा तथा अतिक्रमित क्षेत्र खाली गर्न सात दिनको समयसीमा तोकेर सूचना जारी गरेपछि सुकुमबासी समुदाय त्रास र असन्तोषमा देखिएको छ। गएको सोमबार जारी गरिएको सूचनापछि प्रभावित बस्तीका बासिन्दाले आन्दोलनको बाटो रोजेका हुन्।

शुक्रबार बिहान क्षिरेश्वरनाथ नगरपालिकाअन्तर्गत महेन्द्रनगर क्षेत्रमा प्रदर्शन चर्किएको थियो। प्रदर्शनकारीहरूले महेन्द्रनगरस्थित पुलमा टायर बालेर सडक अवरुद्ध गरेका थिए। सो क्रममा जनकपुर–ढल्केवर सडकखण्डमा यातायात सेवा प्रभावित बनेको स्थानीय प्रशासनले जनाएको छ।

प्रदर्शनका कारण बिहान करिब एक घण्टा सवारी आवागमन ठप्प भएको थियो। बिहान ७ बजेदेखि ८ बजेसम्म सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए। आन्दोलनकारीहरूले सडकमा टायर बाल्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए।

सुकुमबासीहरूले सरकारले वैकल्पिक व्यवस्था नगरी जबरजस्ती रूपमा बस्ती हटाउन खोजेको आरोप लगाएका छन्। उनीहरूका अनुसार लामो समयदेखि बसोबास गर्दै आएका नागरिकलाई पुनःस्थापनाको सुनिश्चितता बिना हटाउने प्रयास अन्यायपूर्ण छ।

नगरपालिकाले भने नेपाल सरकार गृह मन्त्रालयको निर्देशनअनुसार सार्वजनिक तथा जोखिमयुक्त जग्गा खाली गराउने प्रक्रिया अघि बढाएको स्पष्ट पारेको छ। नगरपालिकाले वडा नम्बर १ देखि १० सम्म रहेका अतिक्रमित, अव्यवस्थित तथा जोखिमयुक्त सरकारी र सार्वजनिक जग्गामा निर्माण भएका घरटहरा र अन्य संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ।

निर्धारित समयसीमाभित्र संरचना नहटाइए सुरक्षाकर्मीको सहयोगमा खाली गराइने चेतावनी समेत नगरपालिकाले दिएको छ।

यसैबीच आन्दोलनरत सुकुमबासी समूहले माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। उनीहरूले सरकारले समस्या समाधानका लागि संवाद र पुनर्वासको स्पष्ट योजना अघि सार्नुपर्ने माग गरेका छन्।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख राजाराम यादवका अनुसार प्रदर्शनका क्रममा सडक अवरुद्ध हुँदा सुरक्षाकर्मी परिचालन गरेर अवस्था नियन्त्रणमा लिइएको थियो। उनका अनुसार स्थिति अहिले सामान्य भए पनि सम्भावित तनावलाई ध्यानमा राखेर निगरानी बढाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*