मनसुनमा पानी कम, तापक्रम बढी : जल तथा मौसम विभागको गम्भीर प्रक्षेपण

२५ बैशाख २०८३, शुक्रबार १६:१२

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा नेपालका अधिकांश भू–भागमा औसतभन्दा कम वर्षा हुने र तापक्रम भने बढ्ने प्रक्षेपण गरेको छ ।

विभागले शुक्रबार सार्वजनिक गरेको ‘मनसुन ऋतुको जलवायु आँकलन’ अनुसार आगामी चार महिना (जेठ १८ देखि असोज १४ सम्म) देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ ।

विभागका अनुसार कर्णाली प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग, मधेश प्रदेशको पूर्वी भू–भाग र कोशी प्रदेशको दक्षिणी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भाग, मधेश प्रदेशको पश्चिमी भू–भाग र कोशी प्रदेशको मध्य भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ । बाँकी भू–भागमा भने कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको अनुमान गरिएको छ ।

वर्षासँगै यस वर्ष तापक्रममा पनि वृद्धि हुने देखिएको छ । विभागका अनुसार अधिकतम र न्यूनतम दुवै तापक्रम देशभर सरदरभन्दा बढी रहने सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका कतिपय भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको उल्लेख गरिएको छ ।

यसले गर्दा यस वर्षको मनसुन विगतका वर्षहरूको तुलनामा बढी तातो र असहज हुन सक्ने संकेत देखिएको छ ।

विभागका अनुसार यो आकलन विश्व मौसम संगठनका मोडल, दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको निष्कर्ष तथा प्रशान्त महासागरमा विकसित हुने ‘एल निनो’ र हिन्द महासागरको ‘इन्डियन ओसन डिपोल’ अवस्थाको विश्लेषणका आधारमा गरिएको हो ।

हाल प्रशान्त महासागरमा ‘एल निनो’ अवस्था विकास हुँदै गइरहेको र यसले नेपालमा वर्षा घटाउन सक्ने सम्भावना रहेको विभागको जलवायु आँकलन बुलेटिनमा उल्लेख छ ।

गत वर्ष २०८२ को मनसुनमा पनि धेरैजसो स्थानमा सरदरभन्दा कम वर्षा मापन गरिएको थियो । विभागको समीक्षामा गत वर्षको प्रक्षेपण धेरै हदसम्म मिल्दोजुल्दो रहेको निष्कर्ष निकालिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*