घर निर्माण फेस्टुको नयाँ संस्करणका लागि स्टल बुकिङ खुला

काठमाडौं । यस वर्ष पनि घर निर्माण फेस्ट २०८३ आयोजना हुने भएको छ । घर निर्माण फाउन्डेसन को आयोजनामा हुने यो फेस्ट आगामी पुसको १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको हो । यसअघिका फेस्टमा उत्साहपूर्ण रूपमा दर्शकको उपस्थिति रहेको फेस्टमा यस पटकका लागि १५० बढी स्टलहरू रहने छ । फेस्टमा इस्टल राख्न चाहनेका लागि स्टल बुकिङ खुला गरिएको आयोजक घर निर्माण फाउन्डेसनले जनाएको छ ।
निर्माण क्षेत्रमा संलग्न रहेका इच्छुक कम्पनी र संस्थाले आफ्नो उत्पादन तथा सामग्रीबारे समेत फेस्टमा इस्टल राखी उपभोक्तामाझ पुऱ्याउन सक्नेछन् । फेस्टमा सहकार्यका लागि समेत आवेदन खुला गरिएको छ । यसका लागि काठमाडौंको बबरमहलस्थित फाउन्डेसनको कार्यालयमा अथवा ९८०९८८००४८ मा सम्पर्क गर्न सकिने छ । अव्यवस्थित निर्माण क्षेत्रलाई व्यवस्थित बनाउन, मन्दीको अवस्थामा रहेको आर्थिक गतिविधि चलायमान बनाउन तथा निर्माण क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्ती र निर्माण कम्पनीबीच सम्बन्ध स्थापित गराउनका लागि फेस्ट आयोजना गर्न लागिएको हो ।
आधुनिक निर्माण प्रविधि र सामग्रीको प्रयोग बढाउन, घर निर्माणको तयारीदेखि अन्तिम चरणसम्मको जानकारी एउटै थलोबाट दिने उद्देश्य समेत फेस्टले राखेको छ । यसअघि गत पुस १२ १५ गतेसम्म भएको दोस्रो संस्करणको फेस्टमा ६० हजार बढी दर्शकको उपस्थिति रहेको थियो । १ सय ३५ स्टल रहेको सो फेस्टमा ३ अर्ब बढीको कारोबार भएको थियो । फाउन्डेसनका अनुसार नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि विस्तार भइरहेको भए पनि धेरै ब्रान्डहरूले उत्पादनको प्रभावकारी प्रस्तुति, ग्राहकसँग सम्बन्ध विस्तार र बजारमा प्रतिस्पर्धी ब्रान्डिङ गर्न चुनौती भोगिरहेको समस्या समाधानका लागि फेस्ट आयोजना गर्न लागिएको हो ।
४ दिनसम्म चल्ने फेस्टमा प्रत्यक्ष अन्तरक्रिया, विशेषज्ञ मार्गदर्शन र ब्रान्डिङ परामर्शमार्फत व्यवसायीले लक्षित ग्राहकसम्म आफूलाई प्रभावकारी रूपमा पुऱ्याउन सक्नेछन् । फेस्टमा निर्माण व्यवसायी र सरोकारवालासँग निर्माण क्षेत्रमा रहेका समस्या समाधानका उपाय र गुणस्तरीय निर्माणका लागि अपनाउनुपर्ने उपायबारे बारे समेत छलफल हुनेछ भने अवलोकनतकर्ताहरुले निर्माणका क्रममा अपनाउनुपर्ने सावधानी, ध्यान दिनुपने पक्ष तथा कम लागतमा गुणस्तरीय निर्माणका लागि अपनाउन सकिने प्रक्रियाबारे परामर्श लिन पाउनेछन् । विभिन्न निर्माण सामग्री उत्पादक र व्यवसायीले प्रदान गर्ने प्रयोगका तरिकाबारेको जानकारी समेत फेस्टमा पाइनेछ ।
यसैगरि निर्माण क्षेत्रमा विकास गरिएका नयाँ प्रविधि तथा उत्पादनबारे प्रयोगकर्तासम्म पुयाउनका लागि समेत फेस्ट प्रभावकारी हुनेछ । निर्माणसम्बन्धी नयाँ प्रविधि, सामग्री र डिजाइनबारे प्रत्यक्ष जानकारी दिन तथा नवप्रवर्तन, गुणस्तरीय निर्माण, ब्रान्डिङ र व्यावसायिक वृद्धिका लागि फेस्ट प्रभावकारी हुनेछ ।
फेस्टमा अवलोकन गर्न आउनेहरूका लागि निर्माणसम्बन्धी जिज्ञासामा विशेषज्ञहरूसँग प्रत्यक्ष र निःशुल्क परामर्श पाउने व्यवस्था गरिनेछ । इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगमा अनुभवी व्यक्तिहरूसँग डिजाइन, लागत, गुणस्तर र आधुनिक प्रविधिबारे पनि फेस्टमा अवलोकनकर्ताले आवश्यक जानकारी लिन सक्नेछन् ।












