तेस्रो त्रैमासमा सिटिजन लाइफको उल्लेख्य प्रगति, २४ अर्बको जीवन बीमा कोष

काठमाडौं । सिटिजन लाइफले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले गत चैत्र मसान्तसम्ममा उल्लेख्य प्रगति गर्दै २४ अर्ब ५५ करोडको जीवन बीमा कोष बनाउन सफल भएको छ । कम्पनीको जीवन बीमा कोषको आकार ३६ प्रतिशतले बृद्धि भएको हो ।
अघिल्लो आवको यस अवधीमा जम्मा १८ अर्बको जीवन बीमा कोष रहेको कम्पनीले बर्षदिनको अवधीमा छ अर्बभन्दा बढि बृद्धि गरी २४ अर्ब नघाउन सफल भएको छ । यद्यपि जीवन बीमा कोष जोखिम कोष हो । जीवन बीमा कम्पनीहरुमा जति ठूलो जीवन बीमा कोष छ, सोही आधारमा कम्पनीको बलियोपना, जोखिम धेरै धारण गरेको स्पष्ट हुन्छ ।
समीक्षा अवधीमा कम्पनीको मुनाफा सामान्य बृद्धि भई ३५ करोडबाट बढेर ३६ करोड पुगेको छ । गत बर्षको यसै अवधीमा कम्पनीको खुद नाफा ३५ करोड ७६ लाख रुपैयाँ रहेको थियो । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।
कम्पनीको समग्र आय १९.७८ प्रतिशतले बृद्धि भई सात अर्ब ५६ करोड नाघेको छ । अघिल्लो आवको यसै अवधीमा कम्पनीको खुद आय छ अर्ब ३१ करोड रुपैयाँ मात्र रहेको थियो ।
कम्पनीले लगानीबाट प्राप्त आम्दानी र बीमा पोलिसी धितोमा प्रवाह भएको कर्जाबाट प्राप्त आम्दानी बृद्धि भएकोले कम्पनीको आम्दानी बढेको देखिएको छ ।
कम्पनीले समीक्षा अवधीमा २०.९२ प्रतिशत खर्च बृद्धि भएको छ । अघिल्लो आवमा पाँच अर्ब ९६ करोड रुपैयाँ खर्च गरेको कम्पनीले यस आवको नौ महिनाको अवधीमा सात अर्ब २० करोड रुपैयाँ खर्च गरेको छ । सो खर्च कम्पनीले व्यवसाय प्रबद्र्धन, कर्मचारी खर्च र अन्य खर्चमा आएको बृद्धिबाट भएको देखिन्छ ।
सिटिजन लाइफको जारी बीमा पोलिसी संख्या भने घटेको छ । गत बर्ष १० लाख १५ हजार बीमा पोलिसी कायम रहेकोमा चालु आवको नौ महिनामा सात लाख ८८ हजार वटा बीमा पोलिसी कायम भएको देखिएको छ ।
समीक्षा अवधीमा कम्पनीको प्रतिशेयर आम्दानी ९.६० रुपैयाँ रहेको छ । गत बर्ष ९.५४ रहेको थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १३१.१७ रुपैयाँ रहेको छ ।
दीगो विकास रणनीतिमा अघि बढिरहेको सिटिजन लाइफको चालु आवमा कम्पनीको व्यवसाय फराकिलो हुन पुगेको छ भने ब्याज घटेर अप्ठेरो ठूलो कम्पनीहरु अप्ठेरो अवस्थाबाट गुज्रिरहँदा पनि आम्दानी बृद्धि गरेर कम्पनीको कुशल व्यवस्थापन प्रदर्शन गर्न सफल भएको छ ।












