कसमस सिमेन्टको चुनढुंगा ढुवानीले उदयपुरगढीमा जनजीवन अस्तव्यस्त, सडकदेखि खेतीसम्म गम्भीर असर

११ जेष्ठ २०८३, सोमबार १४:०२

काठमाडौँ । उदयपुरगढी गाउँपालिका–८ स्थित बैजनाथ टोल क्षेत्रका स्थानीयवासीले कसमस सिमेन्ट उद्योग को चुनढुंगा ढुवानी गतिविधिका कारण सडक, वातावरण तथा कृषि क्षेत्रमा गम्भीर असर परेको आरोप लगाउँदै तत्काल स्थायी समाधानको माग गरेका छन्।

बैजनाथ टोल विकास संस्थाले आइतबार गाउँपालिकामा बुझाएको ज्ञापनपत्रमा उद्योगको खानी क्षेत्रबाट निरन्तर सञ्चालन हुने टिपर तथा ट्रकहरूको अत्यधिक आवागमनले स्थानीय सडक तीव्र रूपमा जिर्ण र जोखिमपूर्ण बन्दै गएको उल्लेख गरिएको छ। सडकको अवस्था बिग्रँदै जाँदा स्थानीय बासिन्दा, विद्यार्थी, ज्येष्ठ नागरिक तथा बिरामीलाई दैनिक आवतजावत, विद्यालय र स्वास्थ्य संस्थासम्म पुग्न अत्यन्त कठिनाइ भइरहेको गुनासो गरिएको छ।

स्थानीयवासीका अनुसार वर्षायाममा सडक हिलाम्मे र खाल्डाखुल्डीले भरिने तथा सुख्खा मौसममा अत्यधिक धुलो उड्ने समस्याले बस्तीको जनजीवन कष्टकर बनेको छ। ढुंगा ढुवानीका क्रममा ओभरलोड सामग्री सडकमा खस्ने गरेको र सडक मर्मतका नाममा प्रयोग हुने चुनढुंगाले समेत आसपासको खेतीयोग्य जमिनमा प्रत्यक्ष असर पारेको आरोप स्थानीयले लगाएका छन्।

ज्ञापनपत्रमा वर्षाको पानीसँगै खानीजन्य कच्चा पदार्थ बगेर खेतबारीमा थुप्रिने गरेको र त्यसका कारण कृषि उत्पादन घट्दै गएको उल्लेख छ। दीर्घकालीन रूपमा स्थानीय कृषि प्रणाली नै कमजोर बन्ने जोखिम बढेको स्थानीयको दाबी छ। साथै, बस्तीको बीचबाट ढुवानी मार्ग सञ्चालन हुँदा उत्पन्न हुने कम्पन र ध्वनि प्रदूषणका कारण घरहरू समेत जोखिममा परेको टोल विकास संस्थाकी अध्यक्ष सर्मिला तामाङले बताएकी छन्।

सामाजिक अभियन्ता रमा मगरका अनुसार यस विषयमा समाधान खोज्न गत जेठ ३ गते वडा अध्यक्षसहित सरोकारवाला पक्ष र उद्योग प्रतिनिधि सहभागी गराएर बैठक आयोजना गरिएको थियो। तर उद्योग पक्ष अनुपस्थित रहेपछि समस्या झन् जटिल बनेको स्थानीयको आरोप छ।

समस्या समाधानका लागि वार्ता नभए अनिश्चितकालीन सडक अवरुद्ध गर्ने चेतावनीसमेत स्थानीयले दिएका छन्। उद्योगका स्थानीय कर्मचारीले पाँच दिनभित्र आधिकारिक प्रतिनिधिसँग वार्ता गराउने मौखिक सहमति जनाए पनि त्यसअनुसार कुनै पहल नभएको भन्दै स्थानीय थप आक्रोशित बनेका छन्।

टोल विकास संस्थाले गाउँपालिकालाई उद्योग पक्ष, स्थानीय जनप्रतिनिधि, वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा समुदायका प्रतिनिधिहरूको संयुक्त उपस्थितिमा तत्काल बैठक आयोजना गरी दीर्घकालीन समाधान निकाल्न आग्रह गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*