युरोपेली संघका २२ राष्ट्रका उच्चस्तरीय प्रतिनिधिमण्डललाई प्रधानमन्त्री बालेन्द्र शाहले भेट्ने

११ जेष्ठ २०८३, सोमबार १६:४०

काठमाडौं । नेपाल भ्रमणमा रहेको युरोपेली संघको उच्चस्तरीय प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने भएको छ । यसअघि विदेशी कूटनीतिक प्रतिनिधिसँग औपचारिक भेट नगरेका प्रधानमन्त्री शाहले यसपटक भने ईयू सदस्य राष्ट्रका प्रतिनिधिहरूसँग सामूहिक छलफल गर्न लागेका हुन् ।

नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा आएको टोलीमा सदस्य राष्ट्रहरूका राजदूत तथा उप–मिसन प्रमुखहरूको सहभागिता रहेको छ । नेपाल र युरोपेली संघबीचको दीर्घकालीन सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित प्रतिनिधिमण्डलले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग संवाद अघि बढाएको जनाएको छ ।

भ्रमण टोलीमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका प्रतिनिधिहरू सहभागी छन् ।

प्रतिनिधिमण्डलले सोमबार परराष्ट्रमन्त्री शिशिर खनाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल सँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । साथै निजी क्षेत्र, नागरिक समाज र युवा नेतृत्वसँग पनि छलफल गरिने जनाइएको छ ।

नेपालको नयाँ सरकारसँग सहकार्यलाई थप प्रभावकारी बनाउने, विकास साझेदारीलाई निरन्तरता दिने तथा व्यापार, लगानी, जलवायु परिवर्तन र बहुपक्षीय सहकार्यका क्षेत्रमा नयाँ सम्भावना पहिचान गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको प्रतिनिधिमण्डलले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*