आवश्यकता अनुसार प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छः सरकारका प्रवक्ता पोखरेल

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री बालेन शाहले सम्बोधन नगर्ने विषयमा मन्त्रिपरिषद्मा कुनै छलफल नभएको बताएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले आवश्यकता अनुसार सम्बोधन गर्ने बताएका हुन्।
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन नआउने विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री पोखरेलले भने, ‘त्यसको बारेमा मन्त्रिपरिषद्मा आज छलफल भएको छैन। आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छ।’
सरकारका प्रवक्ता समेत रहेका उनले आगामी बजेटको तयारीबारे पनि जानकारी दिएका छन्। उनका अनुसार अर्थमन्त्रीले बजेट निर्माणको काम अघि बढाइरहेका छन् भने अधिकांश मन्त्रालयहरूले आफ्नो योजना तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन्।












