देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नीलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।
देउवाले पक्राउ रोक्न माग गर्दै वारेशमार्फत दायर गरेको रिटमाथि सुनुवाइ सकेपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले अन्तरिम आदेश दिएको हो ।
सोमबार (जेठ ११) सरकार र रिट निवेदक पक्षबीच भएको छलफलपछि सर्वोच्चले मागअनुसारको अन्तरिम आदेश दिएको हो । आदेशको लिखित प्रति भने आउन बाँकी छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि सो प्रक्रियामाथि क्षेत्राधिकारको प्रश्न उठाउँदै देउवा सर्वोच्च अदालत पुगेका थिए । जिल्ला अदालतलाई पक्राउ अनुमति दिने अधिकार नभएको दाबी रिटमा गरिएको छ ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले पक्राउ पुर्जी प्रकरणमा अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि दुवै पक्षलाई झिकाएको थियो ।












