काठमाडौंमा देखियो बर्ड फ्लु

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडामा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा कृषकलाई आग्रह गरेको छ ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै वडा नं. २, ३ र ४ मा बर्ड फ्लु संक्रमण देखिएपछि नियन्त्रण तथा रोकथामका कामलाई तीव्र बनाइएको जनाएको हो । संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायत पन्छी, अण्डा तथा पन्छीको दाना सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने तथा क्षेत्रलाई पूर्ण रूपमा निसंक्रमण गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार पन्छी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारीसाधनको प्रवेशमा रोक लगाइएको छ । अत्यावश्यक अवस्थामा प्रवेश गर्नुपरे अनिवार्य रूपमा निसंक्रमण गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । साथै, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेका अण्डा राख्ने क्रेट पुनः प्रयोग नगर्नुपर्ने तथा फार्मको प्रवेशद्वारमा चुना वा निसंक्रामक औषधि राखिएको फुटबाथ अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको छ ।
खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्न तथा दैनिक रूपमा खोर निसंक्रमण गर्न कृषकहरूलाई आग्रह गरिएको छ । त्यस्तै, फार्म परिसरमा कुकुर, बिरालो र मुसाजस्ता जनावरहरूको प्रवेश रोक्न तथा मरेका पन्छीहरूलाई तुरुन्त सुरक्षित तरिकाले खाल्डोमा गाड्न नगरपालिकाले अनुरोध गरेको छ ।
नगरपालिकाले पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने जनाएको छ । साथै, मासु तथा अण्डाजन्य परिकार राम्ररी पकाएर मात्र सेवन गर्न सर्वसाधारणलाई सचेत गराइएको छ ।












