जीवन बीमा कम्पनीहरुको व्यवसाय १२% ले बढ्यो, आइएमई–रिलायबल र सिटिजनको उच्च ग्रोथ

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्मको अवधिमा एक खर्ब ५६ अर्ब १७ करोड ४९ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
विवरण अनुुसार गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय १२.०६ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ३९ अर्ब ३६ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेक थिए । कम्पनीहरुले आफ्नो बीमा व्यवसायलाई उल्लेख्य मात्रामा बृद्धि गराएका छन् ।
कुल बीमा शुल्क आर्जनको आधारमान नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छन् भने बृद्धिदरका आधारमा आइएमई लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफ अगाडि रहेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा आफ्नो व्यवसाय १२.५१ प्रतिशतले बृद्धि गर्दै ४१ अर्ब १६ करोड ६६ लाख रुपैयाँ पुगाउँन सफल भएको छ ।
दोस्रो नम्बरमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले गत आवको तुलनामा १०.६१ प्रतिशतले बढाएर १९ अर्ब २ करोड रुपैयाँ र एलआइसी नेपालले ८.१४ प्रतिशतले बढाएर १६ अर्ब ८४ करोड २८ लाख रुपैयाँ पुर्याएको छ ।
त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको ब्यवसाय ५.५२ प्रतिशतले बढेर १४ अर्ब ५५ करोड ५२ लाख, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको १६.४३ प्रतिशतले बढेर १० अर्ब ९ करोड, सूर्यज्योति लाइफको ११.४७ प्रतिशतले बढेर ९ अर्ब ५० करोड ९० लाख, एशियन लाइफको १२.२५ प्रतिशतले बढेर ८ अर्ब १ करोड ५२ लाख, सिटिजन्स लाइफको १९.४९ प्रतिशतले बढेर ६ अर्ब ७८ करोड र सानिमा रिलायन्स लाइफको १२ प्रतिशतले बढेर ५ अर्ब ९८ करोड रुपैयाँ पुगेको हो ।
यता, आइएमई लाइफको ब्यवसाय सर्वाधिक ३१.३० प्रतिशतले बढेर ५ अर्ब ५० करोड २६ लाख रुपैयाँ पुगेको हो ।
बैशाख मसान्तसम्मको अवधिमा मेट लाइफको कुल बीमा शुल्क आर्जन १०.२८ प्रतिशतले बढेर ५ अर्ब ४९ करोड, रिलायबल नेपाल लाइफको १९.१३ प्रतिशतले बढेर ४ अर्ब ९४ करोड, प्रभु महालक्ष्मी लाइफको १४.५९ प्रतिशतले बढेर ४ अर्ब ७० करोड र सन नेपाल लाइफको ३.८८ प्रतिशतले बढेर ३ अर्ब ५५ करोड रुपैयाँ पुगेको हो ।












