अदालतमै बयान फेरेपछि तीन साक्षीमाथि अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

१२ जेष्ठ २०८३, मंगलवार १८:४६

काठमाडौँ । विशेष अदालतमा चलिरहेको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भई पछि बयान फेरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठले विशेष अदालतमा चलिरहेको मुद्दामा अनुसन्धानका क्रममा दिएको बयानसँग प्रतिकूल हुने गरी बकपत्र गरेपछि उनीहरूविरुद्ध कानुनी कारबाही अघि बढाइएको हो।

विशेष अदालतमा दर्ता भएको मुद्दा नम्बर ०८२-CR-०१२० मा वादी नेपाल सरकार र प्रतिवादी ढुण्डिराज दाहाल रहेका घुस/रिसवतसम्बन्धी मुद्दामा उनीहरूलाई प्रारम्भमा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो। अनुसन्धानका क्रममा अनुसन्धान अधिकृतलाई सहयोग गरेको आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिँदै उनीहरूलाई प्रतिवादी नबनाई साक्षीका रूपमा राखिएको आयोगले जनाएको छ।

तर, गत २०८३ वैशाख २५ गते विशेष अदालतमा उपस्थित भई बकपत्र गर्दा उनीहरूले अनुसन्धानका क्रममा आयोगका अनुसन्धान अधिकृत समक्ष दिएको बयानभन्दा फरक र प्रतिकूल हुने गरी बयान परिवर्तन गरेको पुष्टि भएपछि कानुनी कारबाही अघि बढाइएको हो।

अनुसन्धानका क्रममा भुक्तानी प्रक्रियामा सहजीकरणका लागि विप्लव पोख्रेलले आर.एस.वि. मेटलका तर्फबाट २७ हजार ३५० रुपैयाँ र अभियान्ता नेपालका तर्फबाट २९ हजार रुपैयाँ गरी कुल ५६ हजार ३५० रुपैयाँ ढुण्डिराज दाहाललाई घुस दिएको देखिएको आयोगले जनाएको छ। त्यस्तै, प्रल्हाद गौतमले शुभश्री टेक्नोलोजिजका तर्फबाट ३७ हजार ५०० रुपैयाँ र राजेश श्रेष्ठले विप्लव पोख्रेलमार्फत २७ हजार ३५० रुपैयाँ गरी कुल ९३ हजार ८५० रुपैयाँ घुस दिएको तथ्य अनुसन्धानबाट स्थापित भएको आयोगको दाबी छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर भएको ठहर गर्दै आयोगले सजायको मागदाबी सहित विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*