आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दो, कुल जनसंख्याको २६ प्रतिशतले खोले डिम्याट खाता

काठमाडौं । नेपालमा धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता तीव्र रूपमा विस्तार हुँदै गएको छ । आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार हाल देशको कुल जनसंख्याको करिब २६.२ प्रतिशत नागरिकको पहुँचमा डिम्याट (हितग्राही खाता) सेवा पुगेको छ ।
सर्वेक्षणले नेपाली पुँजी बजारमा डिजिटल प्रविधिको प्रयोग उल्लेख्य रूपमा बढेको देखाएको छ । २०८२ फागुन मसान्तसम्ममा डिम्याट खाता अर्थात् हितग्राही खाता खोल्नेको संख्या ७६ लाख ३९ हजार पुगेको छ । गत असार मसान्तसम्म यो संख्या ६९ लाख ९७ हजार मात्रै थियो ।
त्यस्तै शेयर आवेदन तथा खाता व्यवस्थापनका लागि प्रयोग हुने मेरो शेयर प्रयोग गर्नेको संख्या पनि बढ्दै गएको छ । २०८२ फागुनसम्म ६६ लाख १३ हजारभन्दा बढी नागरिकले मेरो शेयर सेवा लिएका छन् । यो कुल जनसंख्याको करिब २२.७ प्रतिशत हो । २०८२ को असारसम्म ५९ लाख ७६ हजारले मेरो शेयर खोलेका थिए ।
धितोपत्र अभौतिकीकरणलाई व्यवस्थित बनाउन सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा कम्पनी दर्ता र अभौतिक धितोपत्रको संख्या पनि बढेको छ । आर्थिक सर्वेक्षणअनुसार हालसम्म २७३ वटा कम्पनी सिडिएसमा दर्ता भएका छन् भने डिम्याट सेवा उपलब्ध गराउने निक्षेप सदस्यको संख्या १२२ पुगेको छ ।
हालसम्म १५ अर्ब ९० करोड ५५ लाख रुपैयाँको धितोपत्र अभौतिकीकरण भइसकेको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै अभौतिक धितोपत्रको संख्या अघिल्लो वर्षको तुलनामा २३.६ प्रतिशतले बढेको छ ।
शेयरको दोस्रो बजारमा पनि अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या उल्लेख्य रूपमा बढेको देखिएको छ । फागुन २०८२ सम्ममा अनलाइन कारोबारका लागि युजर आइडी लिने लगानीकर्ताको संख्या ३१ लाख ८२ हजार ४६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २५ लाख ४९ हजार ६९६ रहेको थियो ।












