कर्जा विस्तार सुस्त, तर विदेशी सञ्चिति बलियो: आर्थिक सर्वेक्षणले देखायो दोहोरो चित्र

१३ जेष्ठ २०८३, बुधबार १३:५१

काठमाडौँ ।  सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले मौद्रिक तथा वित्तीय सूचकहरूमा मिश्रित तर समग्रमा स्थिरता देखिएको चित्र प्रस्तुत गरेको छ। सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको मौद्रिक नीतिले वार्षिक औसत मुद्रास्फीति करिब ५० प्रतिशतको हाराहारीमा सीमित राख्ने लक्ष्य लिएको भए पनि फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति २.१३ प्रतिशतमा रहेको छ। त्यस्तै, कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य रहेकोमा २०८२ फागुनसम्म १८.५ महिनाको आयात धान्न पुग्ने सञ्चिति रहेको उल्लेख छ।

मौद्रिक समष्टिगत सूचकतर्फ हेर्दा चालु आर्थिक वर्ष विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएकोमा फागुनसम्म ६.७४ प्रतिशतले मात्र वृद्धि भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो वृद्धिदर ४.८३ प्रतिशत थियो। वार्षिक विन्दुगत आधारमा २०८२ फागुन मसान्तसम्म विस्तृत मुद्राप्रदाय १४.५४ प्रतिशतले वृद्धि भएको छ।

यस्तै, सङ्कुचित मुद्राप्रदाय फागुनसम्म ३.९७ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुद्राप्रदाय ५.१० प्रतिशतले वृद्धि भएको थियो। वार्षिक विन्दुगत आधारमा भने २०८२ फागुन मसान्तसम्म सङ्कुचित मुद्राप्रदाय २०.६६ प्रतिशतले वृद्धि भएको देखिन्छ।

कर्जा विस्तारतर्फ निजी क्षेत्रतर्फको कर्जा चालु आर्थिक वर्ष १२.० प्रतिशतले वृद्धि हुने प्रक्षेपण रहेकोमा फागुनसम्म ४.४३ प्रतिशतले मात्र वृद्धि भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो वृद्धिदर ६.०१ प्रतिशत थियो। वार्षिक विन्दुगत आधारमा २०८२ फागुन मसान्तसम्म निजी क्षेत्रको कर्जा ६.७४ प्रतिशतले वृद्धि भएको छ।

मौद्रिक नीतिगत व्यवस्थामा स्थायी तरलता सुविधा दर, नीतिगत दर र स्थायी निक्षेप सुविधा दरलाई क्रमशः घटाएर २.७५ प्रतिशत, ४.२५ प्रतिशत र ५.७५ प्रतिशत कायम गरिएको छ। साथै बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात ४० प्रतिशत यथावत राखिएको छ।

त्यस्तै, वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात क्रमशः १२० प्रतिशत, १०० प्रतिशत र १०० प्रतिशत यथावत रहेको छ।

तरलता व्यवस्थापनतर्फ चालु आर्थिक वर्षको फागुनसम्म खुला बजार कारोबारका विभिन्न उपकरणमार्फत रु. ३३२ खर्ब ८० अर्ब २५ करोड बराबरको तरलता प्रशोचन भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा रु. १६० खर्ब ४ अर्ब १५ करोड थियो।

त्यसैगरी, चालु आर्थिक वर्षको फागुनसम्म ओभरनाइट तरलता सुविधामार्फत रु. १२ अर्ब ५० करोड तरलता प्रवाह भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सुविधा मार्फत रु. २ अर्ब ९० करोड मात्र तरलता प्रवाह भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*