सहकारी क्षेत्रमा १ करोडभन्दा बढी सदस्य, १० खर्ब बचत परिचालन

काठमाडौँ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार २०८२ फागुनसम्म देशभर कुल सहकारी संस्थाको संख्या ३२ हजार ३ सय २५ पुगेको छ। सहकारी क्षेत्रमा आवद्ध सदस्य संख्या १ करोड १ लाख ६० हजार ९ सय ६३ रहेको छ भने सहकारी संस्थाहरूको कुल शेयर पुँजी १ खर्ब ४३ अर्ब २९ करोड पुगेको हो ।
त्यस्तै सहकारी क्षेत्रमा बचत तथा ऋण परिचालनको आकार पनि ठूलो देखिएको छ। फागुनसम्म सहकारी क्षेत्रमा कुल १० खर्ब २९ अर्ब ५७ करोड बचत परिचालन भएको छ भने सोही अवधिमा रु. ९ खर्ब ५ अर्ब ४८ करोड कर्जा प्रवाह गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ। सहकारी क्षेत्रले रोजगारी सिर्जनामा पनि योगदान दिएको छ। २०८२ फागुनसम्म सहकारी क्षेत्रमा ८२ हजार २ सय १६ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेको तथ्यांकमा उल्लेख गरिएको छ।
सहकारीसम्बन्धी एकीकृत तथ्याङ्क व्यवस्थापनका लागि विकास गरिएको सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणालीमा आबद्ध सहकारी संस्थाको संख्या पनि क्रमशः बढ्दै गएको छ। २०८१ असारसम्म उक्त प्रणालीमा १८ हजार ८ सय ९७ सहकारी संस्था आबद्ध रहेकोमा २०८२ फागुनसम्म यो संख्या बढेर १९ हजार ९ सय ३ पुगेको छ।
सहकारी क्षेत्रको नियमनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ८३४ सहकारी संस्थालाई सञ्चालन इजाजतपत्र प्रदान गरेको छ। साथै, सहकारी क्षेत्रमा नियामकीय व्यवस्थालाई थप प्रभावकारी बनाउन बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ तथा नियामकीय मापदण्ड, २०८२ (पहिलो संशोधन) समेत जारी गरिएको छ।
समस्याग्रस्त सहकारीहरूको व्यवस्थापनका सम्बन्धमा पनि प्रगति भएको देखिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयबाट समस्याग्रस्त घोषित २३ सहकारी संस्थामध्ये ३ संस्था राफसाफ भइसकेका छन् भने बाँकी २० संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रिया अझै बाँकी रहेको छ।
त्यसैगरी हालसम्म विभिन्न चरणमा कुल ८० हजार ८७ दाबीकर्ताहरूले रु. ४७ अर्ब ६० करोड १३ लाख बराबरको मागदाबी दर्ता गराएका छन्। तीमध्ये हालसम्म ३ हजार ६ सय ८८ दावीकर्तालाई पूर्ण रूपमा रु. २ अर्ब ५४ करोड ६८ लाख मागदाबी भुक्तानी गरिएको छ। साथै चालु आर्थिक वर्षको फागुनसम्म थप ८ हजार ७ सय ६३ दावीकर्तालाई रु. १२ करोड २३ लाख रकम फिर्ता गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।











