केपी ओली र रमेश लेखकलाई मानवताविरुद्धको कसुरमा कारबाही गर्न सिफारिस

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलन दमन प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहित दुई पूर्वमन्त्रीविरुद्ध मानवता तथा मानव अधिकार उल्लंघनसम्बन्धी कसुरमा कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगको मंगलबार बसेको बैठकले आन्दोलन दमनका क्रममा गम्भीर मानव अधिकार उल्लंघन भएको निष्कर्षसहित कारबाही सिफारिस गर्ने निर्णय गरेको हो ।
आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ लाई समेत दोषी ठहर गर्दै उनीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गरेको जनाएको छ ।
आयोगका अनुसार यससम्बन्धी स्पष्ट कानुनी व्यवस्था हाल विद्यमान नरहेकाले आवश्यक कानुन निर्माण गरी त्यसअनुसार मुद्दा चलाउन सरकारलाई सुझाव दिइएको छ । आयोग सदस्य लिली थापा को संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा आयोगले निर्णय गरेको हो ।
आयोगले मानवता तथा मानव अधिकारविरुद्धका कसुरमा दोषी ठहर हुने व्यक्तिलाई बढीमा ६ महिनासम्म कैद सजाय र पाँच वर्षसम्म राजनीतिक गतिविधिमा सहभागी हुन नपाउने व्यवस्था रहने गरी कानुन निर्माण गर्नसमेत सिफारिस गरेको छ ।
जेन–जी आन्दोलन दमनका क्रममा राज्य पक्षबाट बल प्रयोग, नागरिक अधिकार हनन तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको विषयमा लामो समयदेखि आलोचना हुँदै आएको थियो ।












