२४ घण्टामै २ हजारभन्दा बढी चालक कारबाहीमा, ट्राफिक जरिवानाबाट राज्यकोषमा २२ लाख राजस्व

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकमाथि प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार ५५ सवारीचालक कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट राज्यकोषमा २२ लाख ११ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८३ जना चालक कारबाहीमा परेका छन् भने नियमविपरीत ‘राइड सेयरिङ’ सञ्चालन गर्ने १९२ जनालाई पनि नियन्त्रणमा लिएर कारबाही गरिएको छ । त्यसैगरी ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने १०९ जना र तीव्र गतिमा सवारीसाधन चलाउने १०२ जनामाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।
उपत्यकामा ट्राफिक अनुशासन उल्लंघनका अन्य घटना पनि उल्लेख्य देखिएका छन् । लेन अनुशासन पालना नगर्ने १४६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०३ जना, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ११२ जना तथा एकतर्फी सडकमा सवारी चलाउने ८५ जना चालक कारबाहीमा परेका हुन् । यस्तै अन्य विभिन्न सवारी नियम उल्लंघन गर्ने एक हजार १२३ जनालाई समेत ट्राफिक प्रहरीले जरिवाना गरेको जनाएको छ ।











