पठाओ एपमै अब हेलिकप्टर बुकिङ, ‘पठाओ हेली’ सेवासँग मुक्तिनाथदेखि सगरमाथासम्मको यात्रा सहज

१४ जेष्ठ २०८३, बिहीबार १३:३३

काठमाडौं । पठाओ नेपालले मोबाइल एपमार्फत हेलिकप्टर बुकिङ गर्न मिल्ने सेवा विस्तार गरेको छ। राइड सेयरिङ सेवाबाट सुरु भएको कम्पनीले अब हवाई यात्रातर्फ समेत प्रवेश गर्दै ‘पठाओ हेली’ सेवा सञ्चालनमा ल्याएको हो।

नेपालको प्रमुख मोबिलिटी प्लेटफर्म पठाओ नेपालले सिम्रिक एयरसँगको सहकार्यमा हेलिकप्टर बुकिङ सेवा सुरु गरेको जनाएको छ। यस सेवा अन्तर्गत प्रयोगकर्ताले पठाओ एप वा पठाओ हेलीको वेबसाइटमार्फत सिधै हेलिकप्टर बुक गर्न सक्नेछन्।

कम्पनीका अनुसार मुक्तिनाथ, गोसाईंकुण्ड, सगरमाथा आधार शिविर र अन्नपूर्ण आधार शिविरलगायतका धार्मिक तथा पर्यटकीय गन्तव्यका लागि हेलिकप्टर बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ। मूल्य निर्धारणसहितको सेवा एपमै उपलब्ध हुने भएकाले यात्रुका लागि बुकिङ प्रक्रिया सहज हुने कम्पनीले जनाएको छ।

एक पटकमा एउटा हेलिकप्टरमा चारदेखि पाँच जनासम्म यात्रु यात्रा गर्न सक्ने व्यवस्था रहेको छ। तीर्थयात्रा, नवविवाहित दम्पतीको भ्रमण, पारिवारिक यात्रा तथा साथी समूहको छोटो पर्यटन यात्राका लागि यो सेवा उपयोगी हुने कम्पनीले दाबी गरेको छ।

पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीले मोबिलिटी, पार्सल डेलिभरी, फुड डेलिभरी र ई–कमर्सलाई एकीकृत गर्ने लक्ष्यसहित कम्पनी अघि बढिरहेको बताए। उनले डिजिटल इकोनोमी विस्तारलाई केन्द्रमा राख्दै कम्पनीले नयाँ सेवा थप गर्दै गएको उल्लेख गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*