रेटिङ सुधारिए पनि आत्मनिर्भर लघुवित्त उच्च जोखिममै, नाफा बढे पनि संरचनागत कमजोरी कायम

काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड वित्तीय जोखिममा रहेको पाइएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको इस्युअर रेटिङलाई ‘केयर एनपी बी (इस्युअर)’ बाट बढाएर ‘केयर एनपी बी प्लस (इस्युअर)’ कायम गरे पनि संस्थाको समग्र वित्तीय स्थिति अझै पनि उच्च जोखिमयुक्त रहेको संकेत प्रतिवेदनले नै गरेको हो । यस्तो रेटिङ भएका संस्थाहरूले वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने क्षमतामा उच्च जोखिम बोकेको मानिन्छ ।
रेटिङमा सुधार भए पनि संस्थाको आधारभूत संरचनागत कमजोरी र सीमित बजार उपस्थितिका कारण दीर्घकालीन स्थायित्वबारे प्रश्न यथावत् रहेको देखिन्छ । आर्थिक वर्ष २०२४÷२५ मा देखिएको केही सुधार र आर्थिक वर्ष २०२५÷२६ को पहिलो नौ महिनासम्म कायम रहेको प्रगति मुख्यतः सीमित सूचकहरूमा मात्र केन्द्रित रहेको विश्लेषण गरिएको छ । चुनौतीपूर्ण लघुवित्त वातावरणमा संस्थाको प्रदर्शन अझै अस्थिर प्रकृतिको रहेको देखिन्छ ।
नाफा र प्रतिफल सूचकमा केही सुधार देखिए पनि यो सुधार स्थायी र बलियो आधारमा नभई सञ्चालन दक्षता र सम्पत्ति उपयोगमा भएको सीमित सुधारमा आधारित रहेको उल्लेख छ । अघिल्ला वर्षहरूमा कमजोर रहेको प्रतिफल सूचक केही माथि उठे पनि संस्थाको समग्र नाफा क्षमतामा अझै संरचनागत कमजोरी कायम रहेको देखिन्छ।
सम्पत्ति गुणस्तरको अवस्था अझै कमजोर रहेको तथ्य प्रतिवेदनमा स्पष्ट छ । खराब कर्जाको अवस्था केही हदसम्म स्थिर देखिए पनि जोखिम पूर्ण रूपमा नियन्त्रणमा आएको छैन । खराब कर्जा र शुद्ध सम्पत्तिको अनुपातमा देखिएको सुधार पनि उच्च प्रावधान राख्नुपरेको कारण मात्र सम्भव भएको हो ।
पूँजी पर्याप्तता सन्तोषजनक देखिए पनि लघुवित्त क्षेत्रको जोखिम प्रकृति, ऋणीहरूको कमजोर आर्थिक अवस्था र बाह्य आर्थिक उतारचढावप्रति उच्च संवेदनशीलताका कारण यो पूँजी कुशन दीर्घकालीन सुरक्षा दिन पर्याप्त नहुन सक्ने जोखिम पनि प्रतिवेदनले औँल्याएको छ । संस्थाको अर्को प्रमुख कमजोरी यसको सानो आकार र अत्यन्त सीमित बजार हिस्सा हो। प्रतिस्पर्धात्मक लघुवित्त क्षेत्रमा कमजोर उपस्थिति भएकाले संस्थाले स्केल अर्थतन्त्रको लाभ लिन सकेको छैन, जसले लागत संरचना र दीर्घकालीन नाफा क्षमतामा दबाब सिर्जना गरिरहेको छ ।
यो संस्था सन् २०१८ नोभेम्बर २० मा दर्ता गरिएको हो । त्यसपछि नेपाल राष्ट्र बैंकबाट २०१९ फेब्रुअरी १२ मा लघुवित्त कारोबार गर्न अनुमति (इजाजतपत्र) प्राप्त गरेको हो । त्यसपछि २०१९ अप्रिल १५ देखि यसले औपचारिक रूपमा आफ्नो वित्तीय कारोबार सुरु गरेको हो ।












