मध्यपूर्व युद्धले निर्माण क्षेत्र ठप्प हुने खतरा, १० अर्बभन्दा बढी नोक्सानीको चेतावनी

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च मूल्यवृद्धिले नेपाली अर्थतन्त्रमा प्रत्यक्ष असर परेको भन्दै नेपाल उद्योग परिसंघले चिन्ता व्यक्त गरेको छ । परिसंघका अनुसार युद्धअघि (फेब्रुअरी १५) डिजेलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ रहेकोमा हाल बढेर २२५ रुपैयाँ पुगेको छ भने बिटुमिनको मूल्य प्रतिकेजी ७५ रुपैयाँ बाट बढेर १५५ रुपैयाँ पुगेको छ ।
निर्माण उद्योगमा प्रयोग हुने डिजेल, मट्टितेल, बिटुमिनलगायतका निर्माण सामग्री तथा ढुवानी लागतमा भएको तीव्र वृद्धि कारण निर्माण क्षेत्र नै ठप्प हुने अवस्थामा पुगेको नेपाल निर्माण व्यवसायी महासंघले जानकारी गराएको परिसंघले जनाएको छ । महासंघका अनुसार मूल्यवृद्धिको यस अवधिमा मात्र निर्माण व्यवसायीहरूले १० रुपैयाँ अर्बभन्दा बढी नोक्सानी व्यहोर्नु परेको छ ।
निर्माण परियोजनाहरू प्रभावित हुँदा यससँग प्रत्यक्ष तथा परोक्ष रूपमा जोडिएका अन्य उद्योगहरूमा समेत शिथिलता आउने जोखिम बढेको परिसंघको भनाइ छ । यस्तो अवस्थाले समग्र अर्थतन्त्रको गति सुस्त बनाउन सक्ने भन्दै परिसंघले निर्माण व्यवसायीहरूमा परेको आर्थिक तथा मानसिक दबाब कम गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक पहल गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।











