नक्सालमा निर्माण सामग्रीले सडक फोहोर बनाउनेलाई महानगरको ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा हिलो र माटो खसालेर सार्वजनिक स्थल फोहोर गरेको आरोपमा एक व्यक्तिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
महानगरका अनुसार काठमाडौं महानगरपालिका-१ नक्साल क्षेत्रको सडकमा निर्माण सामग्री ढुवानीका क्रममा सडक फोहोर भएको थियो । ना २ ख ४२८ नम्बरको गाडीमार्फत निर्माण सामग्री ओसारपसार गर्दा सडकभरि माटो र हिलो खसाली सार्वजनिक संरचना तथा सडक क्षेत्र प्रदूषित गरिएको महानगरले जनाएको छ ।
सोही घटनामा संलग्न कविन्द्र झालाई महानगरले ५० हजार रुपैयाँ नगद जरिवाना गरेको हो ।
काठमाडौं महानगरपालिका ले पछिल्लो समय सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा फोहोर गर्ने, निर्माण सामग्री जथाभाबी राख्ने तथा ढुवानीका क्रममा सडक हिलो वा धुलो बनाउने गतिविधिमाथि कडा निगरानी राख्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउँदै आएको जनाएको छ ।












