‘तेज’ ब्रान्डको तोरी तेल गुणस्तरहीन, बजारबाट फिर्ता गर्न आदेश

काठमाडौं । ‘तेज’ ब्रान्डको तोरी तेल न्यूनस्तरको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ ।
विभागले बिहीबार सूचना जारी गर्दै बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा नेपाल सरकारले तोकेको मापदण्डअनुसार नभेटिएकाले उक्त उत्पादन बिक्री वितरण नगर्न तथा बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको जनाएको छ ।
विभागका अनुसार आयातित तोरी गेडाबाट उत्पादन गरिएको ‘तेज’ ब्रान्डको तोरी तेलको ब्याच नम्बर २० रहेको छ । उक्त उत्पादनको उत्पादन मिति २०८२ फागुन २८ उल्लेख गरिएको छ भने उपभोग्य अवधि ६ महिना तोकिएको छ ।
विभागले विश्लेषण गरिएका विभिन्न प्यारामिटरका आधारमा प्राप्त नमुना मापदण्डअनुसार नभेटिएको जनाएको छ । त्यसपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम सम्बन्धित उत्पादकलाई बजारबाट उत्पादन फिर्ता गर्न आदेश जारी गरिएको विभागको भनाइ छ ।













