सोपान फर्मास्युटिकल्सको सूचीकरण सम्झौता सम्पन्न

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन तथा बाँडफाँटपछि धितोपत्रको दोस्रो बजार सूचीकरण गर्ने तयारी गरेको छ । कम्पनीले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकरण सम्झौता सम्पन्न गरि सकेको छ भने दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा समेत सूचीकरणका लागि प्रक्रिया अघि बढाइसकेको छ ।
सम्भवत् आगामी साताभित्र कम्पनीको शेयर दोस्रो बजारमा सूचीकृत हुनेछ । यस कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको आधारमा २५ प्रतिशतले हुन आउने ४२ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले सर्वसाधारणतर्फको शेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २९ हजार कित्ता , कर्मचारीहरूमा १ लाख ७१ हजार ६०० कित्ता, सामूहिक लगानीकोषमा २ लाख १४ हजार ५०० कित्ता र थप सर्वसाधारणमा ३४ लाख ७४ हजार ९०० कित्ता आईपीओ बाँडफाँट गरेको हो ।
यस कम्पनीले विक्रम संवत् २०७८ सालदेखि औषधी उत्पादन तथा विक्री वितरण गर्दै आएको छ । अधिकृत पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ रहेको यस कम्पनीको सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ कायम भएको छ ।
संस्थापक तर्फ कम्पनीमा ७५ प्रतिशत शेयर स्वामित्व कायम छ । आईपीओबाट प्राप्त पूँजी कम्पनीले बैंकबाट लिएको कर्जा भुक्तानी र नयाँ परियोजना निर्माण तथा चालू पूँजीको आवश्यकता पूर्तिका लागि प्रयोग गर्ने बताएको छ।
वास्तविक प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ १५ पैसा रहेको कम्पनीले सोही रकमको आधारमा त्यसको तीनगुणासम्मको मूल्य रेञ्ज पहिलो काराबारका लागि प्राप्त गर्नेछ ।











