फोनपे क्यूआरमा युनियनपे एकीकृत, नेपालमा विदेशी डिजिटल भुक्तानी अझ सहज बन्ने

१५ जेष्ठ २०८३, शुक्रबार १४:४६

काठमाडौं । नेपालको अग्रणी पेमेन्ट सिस्टम अपरेटर फोनपेले आफ्नो क्यूआर नेटवर्कमा युनियनपे इन्टरनेसनललाई सफलतापूर्वक एकीकृत गरेको घोषणा गरेको छ । यससँगै अब चीनको मुख्यभूमि, हङकङ एसएआर, मकाउ एसएआर, सिंगापुरलगायत विश्वका विभिन्न देश तथा क्षेत्रका युनियनपे प्रयोगकर्ताले नेपालभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टमा सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्ने भएका छन् ।

काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंक, युनियनपे इन्टरनेसनल, नेपाल पर्यटन बोर्ड, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारमाध्यमको उपस्थितिमा उक्त सहकार्यको औपचारिक घोषणा गरिएको हो । यस अवसरमा दुवै पक्षले डिजिटल भुक्तानी प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने दिशामा यो महत्वपूर्ण कदम भएको बताएका छन् ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले युनियनपे इन्टरनेसनलसँगको एकीकरण कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले युनियनपे विश्वकै सबैभन्दा ठूलो कार्ड तथा भुक्तानी नेटवर्कमध्ये एक रहेको उल्लेख गर्दै यसको प्रयोगकर्ताले अब सिधै फोनपे क्यूआर पूर्वाधारमार्फत नेपालमा कारोबार गर्न सक्नु देशलाई विश्वस्तरीय डिजिटल भुक्तानी गन्तव्यका रूपमा स्थापित गर्ने दिशामा ठूलो योगदान हुने बताए ।

त्यस्तै, युनियनपे इन्टरनेसनलका उपाध्यक्ष झ्वाङ बेइले आफ्ना विश्वव्यापी कार्डधारक तथा एप प्रयोगकर्ताका लागि यात्रा र व्यापारलाई अझ सहज बनाउने लक्ष्यअनुसार नेपालसँगको सहकार्य अघि बढाइएको जानकारी दिए । उनले नेपालमा डिजिटल भुक्तानी पहुँच विस्तारले पर्यटक तथा व्यवसायी दुवैलाई लाभ पुग्ने विश्वास व्यक्त गरे ।

यस सहकार्यसँगै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले अब नगदमा निर्भर हुनुपर्ने अवस्थाबाट ठूलो राहत पाउने अपेक्षा गरिएको छ । विशेषगरी एसियाली मुलुकहरूमा युनियनपे व्यापक रूपमा प्रयोग हुने भएकाले नेपालमा आउने यस्ता पर्यटकका लागि भुक्तानी प्रक्रिया अझ सहज हुने देखिएको छ ।

आर्थिक वर्ष २०२५ मा नेपालमा ११ लाख ५० हजारभन्दा बढी पर्यटक भित्रिएका थिए । तीमध्ये चीन, हङकङ तथा युनियनपे प्रमुख बजारहरूबाट आउने पर्यटकको उल्लेखनीय हिस्सा रहेको तथ्यांकले देखाउँछ । अब ती पर्यटकले आफ्नै देशमा जस्तै सहज डिजिटल भुक्तानी अनुभव नेपालमै प्राप्त गर्न सक्ने भएका छन्, जसले नेपालको पर्यटन तथा सेवा क्षेत्रलाई थप प्रविधिमैत्री र आकर्षक बनाउने अपेक्षा गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*