जेठ १६ गते अगावै अस्पताल भर्ना भएकालाई पूर्ववत् सुविधा दिन निर्देशन, नयाँलाई संशोधित व्यवस्था लागू

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अस्पतालमा भर्ना भई उपचाररत बीमित नागरिकको सेवा बीचमै प्रभावित नगर्न आग्रह गरेको छ। बोर्डले आज सूचना प्रकाशित गर्दै जेठ १६ गतेअघि नै अस्पतालमा भर्ना भएका बिरामीलाई पुरानै सुविधा प्रणालीअनुसार सेवा दिन निर्देशन दिएको हो।
बोर्डका अनुसार सरकारी, निजी तथा सामुदायिक सबै स्वास्थ्य संस्थालाई उक्त व्यवस्था लागू गर्न भनिएको छ। यसअघि भर्ना भएर उपचार गराइरहेका बीमितलाई बीचमै डिस्चार्ज नगरी सेवा निरन्तरता दिन अस्पतालहरूलाई अनुरोध गरिएको छ।
यसअनुसार जेठ १६ गतेअघि भर्ना भएका बिरामीले पहिले पाइरहेको सुविधा र सेवा यथावत् पाउनेछन्। तर जेठ १६ गतेपछि नयाँ भर्ना हुने तथा नयाँ सेवा लिन आउने बीमितको हकमा भने संशोधित अर्थात् नयाँ सुविधा प्रणालीअनुसार सेवा प्रदान गरिनेछ।
स्वास्थ्य बीमा बोर्डले जेठ १२ गते अर्काे निर्णय नभएसम्म नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमाका सेवाहरू स्थगन गर्न निर्देशन दिएको थियो। त्यसपछि विभिन्न अस्पताल र सेवाग्राहीबीच अन्योल देखिन थालेपछि बोर्डले स्पष्ट पार्दै पुराना बिरामीलाई पुरानै व्यवस्थाअनुसार सेवा दिन निर्देशन जारी गरेको हो।
त्यस्तै विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सेवा, त्यसको दर र दायरा भने पहिलेको जस्तै कायम रहने बोर्डले जनाएको छ। बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई सूचना कार्यान्वयन गर्न तथा सेवाग्राहीलाई अनावश्यक समस्या नपार्न आग्रह गरेको छ।











