बजेटमार्फत पूँजीबजारमा ‘ब्रेकथ्रु’, ‘लगानीकर्ता उत्साहित छौं, मार्केटले अब नयाँ यात्रा तय गर्छ’

काठमाडौँ । शेयर लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएका प्रमुख मागहरू आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सम्बोधन गरिएको छ। नेपालको पूँजीबजारले वर्षौँदेखि सरकारसँग उठाउँदै आएका संरचनागत सुधार, लगानीमैत्री नीतिगत व्यवस्था र बजार विस्तारसम्बन्धी विषयहरू यसपटकको बजेटमा समेटिएपछि यसलाई पछिल्ला वर्षहरूमध्ये सबैभन्दा उदार र पूँजीबजारमैत्री बजेटका रूपमा मूल्याङ्कन गरिएको छ।
बजेटले सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकरलाई अन्तिम कर का रूपमा व्यवस्था गर्ने घोषणा गरेको छ । जुन माग लगानीकर्ता लामो समयदेखि उठाउँदै आएका थिए । त्यस्तै, पूँजीबजारलाई मर्यादित, पारदर्शी र लगानीमैत्री बनाउन नियामक निकायको क्षमता अभिवृद्धि गर्ने, प्रविधिमैत्री कारोबार प्रणाली विकास गर्ने तथा लगानीकर्ता संरक्षण संयन्त्रलाई थप सुदृढ बनाउने नीति पनि अघि सारिएको छ।
नेपाल स्टक एक्सचेन्जको पुनःसंरचना अघि बढाउने र बजारलाई आधुनिक वित्तीय उपकरणतर्फ लैजाने उद्देश्यसहित इन्ट्राडे कारोबार, सर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणहरूको चरणबद्ध रूपमा शुरुवात गर्ने व्यवस्था बजेटमा समेटिएको छ। साथै, शेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ जस्ता पूँजीबजारमा हुने अवाञ्छित गतिविधि नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट गरिएको छ।
अन्तर्राष्ट्रिय बजारसँग नेपाली पूँजीबजारलाई जोड्ने उद्देश्यसहित नेपालमा सूचीकृत कम्पनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुन सक्ने गरी ग्लोबल डिपोजिटरी रिसिट जारी गर्ने व्यवस्था मिलाइने पनि बजेटमा उल्लेख छ। यस्तै, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लगानीको लेखाङ्कन, नाफा फिर्ता तथा पुँजीगत लाभकरसम्बन्धी कानूनी व्यवस्थामा परिमार्जन गर्ने घोषणा गरिएको छ।
धितोपत्र बजार व्यवस्थापन तथा कसुर र सजायसम्बन्धी छुट्टै विधेयक संसदमा पेश गर्ने र वित्तीय ट्रष्टीको नियमनका लागि ट्रष्टी विधेयक तर्जुमा गर्ने तयारी पनि बजेटले समेटेको छ।
बजेटले सार्वजनिक स्वामित्व विस्तार गर्ने दिशामा पनि महत्वपूर्ण कदम अघि सारेको छ। राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको थप सेयर सर्वसाधारणमा निष्कासन गर्ने घोषणा गरिएको छ, जसले बजारमा सेयर आपूर्ति बढाउनुका साथै यी संस्थाहरूलाई थप खुला र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
यस्तै, नेपाल टेलिकममा सरकारको ६६ प्रतिशत स्वामित्व कायम राख्दै बाँकी सेयर जनस्तरमा बिक्री गर्ने नीति पनि बजेटमा समावेश गरिएको छ। यो कार्यान्वयन भएमा नेप्सेमा पछिल्ला वर्षहरूमध्ये सबैभन्दा ठूलो सार्वजनिक निष्कासन देखिन सक्ने अनुमान गरिएको छ।
जलविद्युत क्षेत्रमा पनि बजेटले पूँजीबजारलाई प्रत्यक्ष प्रभाव पार्ने व्यवस्था गरेको छ। जलाशययुक्त आयोजनामा प्रवर्द्धकले शतप्रतिशत लगानी सुनिश्चित गरेपछि पहिलो वर्षमै ४० प्रतिशतसम्म सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने नीति ल्याइएको छ।
शेयर लगानीकर्ता उत्साहित, बजारले सकारात्मक लय लिन्छ
अर्थमन्त्रालयबाट प्रस्तुत ऐतिहासिक बजेटले पुँजी बजारका धेरै माग सम्बोधन गरेको भन्दै लगानीकर्ता उत्साहित देखिएका छन्। लामो समयदेखि उठाउँदै आएका नीतिगत मागहरू सरकारले सम्बोधन गरेसँगै बजारमा सकारात्मक लय देखिने अपेक्षा लगानीकर्ताहरूले गरेका छन्।
लगानीकर्ता छोटेलाल रौनियारले बजेट समग्रमा अत्यन्त सकारात्मक आएको बताउँदै पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा व्यवस्था गरिएको निर्णयलाई दीर्घकालीन रूपमा बजारमैत्री कदम भएको टिप्पणी गरे। उनले भने, ‘बजेट समग्रमा धेरै राम्रो आएको छ। हामीले लामो समयदेखि उठाउँदै आएको पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा व्यवस्था गरिएको छ। एनआरएनको लगानी भित्र्याउने विषय पनि आएको छ। पहिलाका सरकारले झ्याल मात्रै बनाउँथे, अहिलेको सरकारले ढोका नै खोलिदिएको छ।’
उनका अनुसार बजेटले पुँजी बजारलाई संरचनागत रूपमा सुधार गर्ने संकेत दिएको छ। ठूलो कम्पनीहरू सर्वसाधारणमा ल्याउने, अनियमितता नियन्त्रण गर्ने र लगानी विस्तार गर्ने नीति सकारात्मक रहेको उनको भनाइ छ। उनले नेपाल टेलिकम, बीमा कम्पनीहरू र अन्य ठूला संस्थाहरूलाई सर्वसाधारणमा ल्याउने विषयले बजारको गहिराइ बढाउने विश्वास व्यक्त गरे।
उनले थपे, ‘विशाल बजार सर्वसाधारणमा आउने भयो। यसले चलखेल हुन पाउँदैन। नेपाल टेलिकमको पनि सर्वसाधारणमा शेयर ल्याउने कुरा छ, बीमा कम्पनीहरूको पनि ल्याउने भनिएको छ। यसले बजारलाई सुधारतर्फ लैजान्छ। धेरै कर घटाइएको छ, अन्त शुल्क पनि घटाइएको छ। लगानीकर्ताको मनोबल बढ्नेछ। कर्मचारी तलब बढेकाले त्यो पैसा पनि बजारमा आउन सक्छ। तर कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ, अर्थतन्त्र उधारो अवस्थामा रहेको छ।’
लगानीकर्ता दिपेन्द्र अग्रवालले पनि पुँजी बजारका लागि बजेट अनुकूल रहेको प्रतिक्रिया दिए। उनका अनुसार बजेटले समग्र अर्थतन्त्रको वृद्धि (ग्रोथ) लाई टेवा पुर्याउने संकेत दिएको छ र नीतिगत रूपमा पनि सकारात्मक दिशा लिएको छ।
उनले भने, ‘राम्रो सम्बोधन भएको छ। बजेटले अर्थतन्त्रलाई ग्रोथ गर्ने देखिएको छ। खुला अर्थतन्त्रलाई प्राथमिकता दिइएको छ। नीतिहरू पनि सकारात्मक छन्। अब बजारले सकारात्मक लय लिने देखिन्छ।’
त्यस्तै लगानीकर्ता तुलसीराम ढकालले यो बजेट पुँजी बजारका लागि ऐतिहासिक भएको दाबी गरे। उनका अनुसार लामो समयदेखि उठाइएका मागहरू सम्बोधन हुनु बजारका लागि महत्वपूर्ण उपलब्धि हो। उनले भने, ‘ऐतिहासिक निर्णय भएको छ। पुँजीगत लाभकरलाई अन्तिम कर बनाइएको छ, जुन हामीले धेरै समयदेखि माग गर्दै आएका थियौं। सरकारलाई धेरै धन्यवाद दिन चाहन्छु।’
ढकालले बजेटले लगानीकर्ताको मनोबल वृद्धि गर्ने विश्वास व्यक्त गर्दै एनआरएन लगानी भित्र्याउने, नियामक संरचना सुधार गर्ने र बजारमैत्री नीति ल्याउने विषयहरू सकारात्मक रहेको बताए। उनले थपे, ‘एनआरएनलाई भित्र्याउने कुरा, ऐनमा सुधार गर्ने कुरा, पुनःसंरचना गर्ने कुरा र प्रविधिमैत्री नियमन ल्याउने कुरा राम्रो छ। अब कार्यान्वयन महत्वपूर्ण छ। करसम्बन्धी धेरै काम अर्थमन्त्रालयबाट भएको छ। अब धितोपत्र बोर्ड, नेप्से र राष्ट्र बैंकबाट केही काम बाँकी हुन सक्छ।’
लगानीकर्ताहरूका अनुसार बजेटपछि बजारमा मनोबल वृद्धि हुने सम्भावना देखिएको छ। विशेषगरी कर नीति, ठूला कम्पनीहरूको सार्वजनिक निष्कासन, वैदेशिक लगानी आकर्षण र नियामक सुधारले पुँजी बजारलाई दीर्घकालीन रूपमा मजबुत बनाउने अपेक्षा गरिएको छ।
बजेटले शेयर बजारलाई ‘बुलिश’ संकेत, यी ७ बुँदाले बढायो उत्साह












