शेयर बजारका लगानीकर्तालाई करको ‘झट्का’, अल्पकालीन १०% र दीर्घकालीन ७.५% पूँजीगत लाभकर

काठमाडौँ । सरकारले सेयर बजारमा हुने कारोबारबाट लिइँदै आएको पूँजीगत लाभकरमा एकैपटक उल्लेख्य वृद्धि गरेको छ । आर्थिक विधेयकमार्फत छोटो तथा लामो अवधिका लागि हालसम्म लागू हुँदै आएको करदरमा वृद्धि गरिएको हो ।
नयाँ व्यवस्था अनुसार एक वर्षभन्दा कम अवधिमा सेयर किनबेचबाट प्राप्त हुने नाफामा अब १० प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने भएको छ । हालसम्म यस्तो कारोबारमा ७.५ प्रतिशत कर लाग्दै आएको थियो ।
त्यस्तै, एक वर्षभन्दा बढी अवधि सेयर होल्ड गरेर बिक्री गर्ने लगानीकर्ताका लागि पनि करदर बढाइएको छ । हालसम्म ५ प्रतिशत तिर्दै आएका दीर्घकालीन लगानीकर्ताले अब आगामी साउनदेखि ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले यी करसम्बन्धी व्यवस्था अघि सारेका हुन् ।

सरकारले सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर बढाए पनि यसलाई अन्तिम करका रूपमा घोषणा गरेको छ । यसअघि अन्तिम करको स्पष्टता नहुँदा लगानीकर्तामा अनिश्चितता र त्रासको अवस्था रहने गरेका थिए ।












