नयाँ सरकार गठनयता तेस्रो अमेरिकी उच्च अधिकारीको काठमाडौं भ्रमण

१७ जेष्ठ २०८३, आईतवार ११:२३

काठमाडौँ ।  अमेरिकी उच्च अधिकारीहरूको काठमाडौं आवागमन पछिल्ला साताहरूमा उल्लेखनीय रूपमा बढेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता नेपाल भ्रमण गर्ने अमेरिकी अधिकारीहरूको संख्या क्रमशः बढ्दै गएको सन्दर्भमा सार्वजनिक कूटनीति हेर्ने अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स शनिबार काठमाडौं आइपुगेकी छन्।

रोजर्स वर्तमान सरकार गठनपछि नेपाल आउने तेस्रो अमेरिकी अधिकारी हुन्। यसअघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर वैशाख ७ गते काठमाडौं आएका थिए भने त्यसको १० दिनपछि भारतका लागि अमेरिकी राजदूत तथा दक्षिण र पश्चिम एसियाका लागि विशेष दूत सर्जिओ गोरले पनि नेपाल भ्रमण गरेका थिए। पद र जिम्मेवारीका हिसाबले हेर्दा रोजर्स हालको सरकार गठनपछि नेपाल आउने सबैभन्दा उच्च तहकी अमेरिकी अधिकारी हुन्।

भारत भ्रमणको क्रममा नयाँदिल्लीबाट शनिबार साँझ काठमाडौं आइपुगेकी रोजर्स शुक्रबार मात्रै भारत पुगेकी थिइन्। नेपाल आउनुअघि उनले उत्तरप्रदेशको ऐतिहासिक शहर आगरास्थित विश्वप्रसिद्ध ताजमहलको अवलोकन गरेकी थिइन्।

सन् २०२५ अक्टोबर १० देखि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनअन्तर्गत सार्वजनिक कूटनीति तथा जनसम्पर्क क्षेत्र हेर्ने ११औँ उपविदेशमन्त्रीको जिम्मेवारी सम्हालिरहेकी रोजर्सको पृष्ठभूमि कानुन व्यवसाय र अभिव्यक्ति स्वतन्त्रता अभियानसँग जोडिएको छ। उनी सार्वजनिक कूटनीतिलाई अमेरिकी विदेश नीतिको प्रभावकारी माध्यमका रूपमा अघि बढाउने अधिकारीका रूपमा परिचित छिन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*