निजी क्षेत्र उत्साहित हुने बजेट ल्यायौं, अब अर्थतन्त्रमा ‘बिग ब्याङ’ हुन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वाञ्छित सीमाभित्र रहेको र प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को तुलनामा यसको आकार सानो रहेको दाबी गरेका छन्। आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन तथा सञ्चारकर्मीसँगको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट, प्राथमिकता तथा कार्यक्रमबारे विस्तृत जानकारी दिएका हुन्।
उनले कर संरचनामा गरिएको परिवर्तन लगानीकर्ताको माग र बजारको आवश्यकतालाई ध्यानमा राखेर गरिएको बताए। उनले आगामी आर्थिक वर्षमा अर्थतन्त्रलाई चलायमान बनाउन सूचना प्रविधि, डिजिटल पूर्वाधार तथा भौतिक पूर्वाधार क्षेत्रमा ठूलो लगानी र नीतिगत प्रोत्साहन प्रदान गरिने उल्लेख गरे। ‘अर्थतन्त्रमा बिग ब्याङ र पूर्वाधारमा बिग पुसका रूपमा काम गर्छौं,’ उनले भने, ‘निजी क्षेत्र अहिले यस्तो बजेट कहाँबाट बर्सियो भनेर उत्साहित भएको अवस्था छ।’
सरकारले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदारका रूपमा लिएको उल्लेख गर्दै उनले बजेटमार्फत लगानी, उत्पादन, रोजगारी तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताए। उनका अनुसार बजेटले निजी क्षेत्रको मनोबल बढाउने र आर्थिक गतिविधिलाई थप गति दिने अपेक्षा गरिएको छ।
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका लागि प्रक्षेपित जिडिपी ७४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको जानकारी दिँदै सार्वजनिक गरिएको बजेट त्यसको करिब २८ प्रतिशत मात्र रहेको बताए। त्यसैले बजेटलाई अत्यधिक ठूलो भन्न नमिल्ने उनको भनाइ थियो।
उनका अनुसार बाह्य ऋण २ खर्ब ४८ अर्ब रुपैयाँ र आन्तरिक ऋण ४ खर्ब १० अर्ब रुपैयाँ रहेको छ। यससँगै कुल सार्वजनिक ऋण करिब ३६ खर्ब रुपैयाँ पुग्नेछ। यद्यपि आन्तरिक ऋणका रूपमा लिइएको ४१० अर्ब रुपैयाँमध्ये ठूलो हिस्सा पुरानो ऋण भुक्तानीमै खर्च हुने उनले स्पष्ट पारे।
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वचनपत्रअनुसार ल्याइएको दाबी गरे। रास्वपाले अघि सारेको पाँचबुँदे करारपत्रलाई समेत बजेटले आत्मसात् गरेको उनको भनाइ थियो। सरकारले प्रस्तुत गरेको बजेट रास्वपाको सुशासन, सदाचार र रोजगारी केन्द्रित अवधारणासँग मेल खाने उल्लेख गर्दै उनले रास्वपाले प्राथमिकतामा राखेका अधिकांश विषय बजेटमा समेटिएको बताए।
उनले आगामी आर्थिक वर्षमा १० लाखदेखि १२ लाखसम्म रोजगारी सिर्जना गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याइएको जानकारी दिए। रास्वपा राजनीतिमा आएपछि सुशासन र सदाचारको विषयले थप महत्त्व पाएको र बजेटले त्यसलाई पनि आत्मसात् गरेको उनको दाबी थियो।
बजेटको आकार तथा सार्वजनिक ऋणका विषयमा बजारमा विभिन्न किसिमका आलोचना भइरहेको जानकारी आफूले पाएको बताउँदै उनले हरेक वर्ष बजेट ठूलो आयो भन्ने र कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुने गरेको उल्लेख गरे। ‘अर्थशास्त्रमा केवल अंक हेरेर निष्कर्ष निकालिँदैन। ठूला अंकलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी)सँग तुलना गरेर हेर्नुपर्छ,’ उनले भने, ‘यो बजेट अंकभन्दा पनि आकारका हिसाबले राम्रो छ।’
अर्थमन्त्री वाग्लेले कच्चा पदार्थ तथा मेटेरियलमा लाग्ने कर तयारी वस्तुको तुलनामा कम राखिएको जानकारी दिए। साथै विद्युतीय सवारीसाधन (ईभी) मा स्वच्छ ऊर्जा शुल्क लगाउने व्यवस्था गरिएको पनि उनले बताए।
उनका अनुसार सरकारले कृत्रिम बौद्धिकता (एआई) को विकासलाई उच्च प्राथमिकतामा राखेको छ। एआई सम्बन्धी कार्यक्रम जिल्ला तथा वडास्तरसम्म विस्तार गर्ने लक्ष्यसहित बजेटमा व्यवस्था गरिएको र यस क्षेत्रमा नेपालले उल्लेखनीय फड्को मार्ने विश्वास उनले व्यक्त गरे।
बजेट कार्यान्वयन हुँदैन भन्ने चार दशकदेखिको भाष्यलाई यसपटक चिर्ने गरी काम गरिएको दाबी गर्दै उनले आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सबै मन्त्रालयलाई अभूतपूर्व ढंगले सशक्त बनाइएको बताए। ‘म चैत १३ मा अर्थ मन्त्रालय आएको थिएँ, चैत मसान्तमा रेसियो हेर्दा पूँजीगत खर्च १९/२० प्रतिशत मात्र भएको थियो,’ उनले भने, ‘कम्तीमा विनियोजित बजेट त खर्च गर्नुपर्यो नि।’ भौतिक पूर्वाधार मन्त्रालयमा २४/२५ प्रतिशत मात्र पूँजीगत बजेट खर्च हुने अवस्था रहेको तर ठूलो बजेट ओगटेर पनि खर्च अत्यन्त न्यून हुने गरेको भन्दै उनले सबै मन्त्रालयलाई सकेसम्म बढी पूँजीगत बजेट खर्च गर्न निर्देशन दिइएको जानकारी दिए।
उनले बजेट कार्यान्वयनमा देखिएका अवरोध हटाउन विनियोजन विधेयकमा संशोधन गरिएको र जेठ १६ गतेदेखि नै काम गर्न सकिने गरी सहजीकरण गरिएको बताए। ‘अब अर्थ मन्त्रालयले अड्कायो भन्न पाउँदैनन्,’ उनले भने।
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए।












