काठमाडौं–शेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

१८ जेष्ठ २०८३, सोमबार १७:५४

काठमाडौं । नेपाल–चीन संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी जुन ४, २०२६ देखि काठमाडौं र चीनको प्रमुख प्रविधि तथा व्यापारिक केन्द्र शेन्जेनबीच सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ।

कम्पनीले सोमबार जारी गरेको जानकारीअनुसार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र शेन्जेनको बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलबीच हप्तामा दुईवटा नियमित उडान सञ्चालन गरिनेछ। नयाँ गन्तव्य थपिएसँगै कम्पनीले आफ्नो क्षेत्रीय सञ्जाल विस्तारलाई थप गति दिएको जनाएको छ।

सार्वजनिक गरिएको उडान तालिकाअनुसार काठमाडौंबाट शेन्जेनका लागि प्रत्येक मङ्गलबार र बिहीबार राति ९ः५० बजे उडान हुनेछ। उक्त उडान भोलिपल्ट बिहान ४ः३० बजे शेन्जेन पुग्नेछ। त्यसैगरी शेन्जेनबाट काठमाडौंका लागि प्रत्येक बुधबार र शुक्रबार बिहान ५ः५५ बजे उडान हुने र सोही दिन बिहान ८ः३५ बजे काठमाडौं अवतरण गर्ने कम्पनीले जनाएको छ।

हिमालय एयरलाइन्सका अनुसार नयाँ रुट सञ्चालनसँगै नेपाल र चीनबीचको हवाई सम्पर्क थप सुदृढ हुने अपेक्षा गरिएको छ। चीनको ‘सिलिकन भ्याली’का रूपमा परिचित शेन्जेनसँग सिधा हवाई पहुँच स्थापित हुँदा पर्यटन, व्यापार, लगानी तथा जनस्तरको आदानप्रदानमा सकारात्मक प्रभाव पर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*