काठमाडौं महानगरमा बचत रकम फिर्ता गर्न ६ हजारभन्दा बढी उजुरी

१८ जेष्ठ २०८३, सोमबार १८:३५

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) सहकारी विभागमा बचत रकम फिर्ता गरिदिन माग गर्दै उजुरी दिने बचतकर्ताको सङ्ख्या ६ हजार ३०० पुगेको छ। पछिल्लो समय सहकारी संस्थाबाट बचत फिर्ता नपाएको भन्दै बचतकर्ताबाट अत्यधिक उजुरी आउन थालेपछि विभागले सहजीकरण प्रक्रिया तीव्र बनाएको जनाएको छ।

महानगरको सहकारी विभागका अनुसार गत वैशाख १७ गतेदेखि हालसम्म प्राप्त निवेदनका आधारमा ६ हजार ३०० बचतकर्ताले आफ्नो बचत रकम फिर्ता गराइदिन माग गरेका छन्। उजुरी दिने अधिकांश बचतकर्ताको रकम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म रहेको जनाइएको छ।

विभागको तथ्याङ्कअनुसार उजुरी दिने बचतकर्तामध्ये साना बचतकर्ताको हिस्सा ७८ प्रतिशत छ। दैनिक ५०० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म बचत गर्ने सर्वसाधारणको सङ्ख्या अत्यधिक रहेको विभागले जनाएको छ।

यसैबीच, कामपाले सहकारीमार्फत बचत रकम फिर्ता गराउने प्रयासलाई निरन्तरता दिएको छ। महानगरपालिका–६ मा सञ्चालित बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले गत सोमबार र मङ्गलबार गरी ३४ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको विभागले जनाएको छ। सहकारीले एक लाख ५० हजार रुपैयाँसम्म बचत गरेका सदस्यको रकम फिर्ता गरेको हो।

विभागका अनुसार उक्त सहकारीले आगामी एक महिनाभित्र पाँच लाख रुपैयाँसम्म बचत गरेका बचतकर्ताको रकम पनि फिर्ता गर्ने योजना बनाएको छ। ठूला बचतकर्ताको हकमा भने सहकारी विभागसँग समन्वय गरी ऋणीलाई ताकेता गर्ने र बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया अघि बढाइएको छ।

महानगरको सहकारी विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको जनाएको छ। विभागले बचतकर्ताबाट माग दाबीसहितको निवेदन लिएर सम्बन्धित सहकारी संस्थाका सञ्चालक र बचतकर्ताबीच छलफल तथा मिलापत्र गराउने प्रयास गर्दै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*