भृकुटीमण्डपमा फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत्, ऊर्जा र प्रविधिको महाकुम्भ जेठ २२ देखि

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औं संस्करण आयोजना गर्ने भएको छ । नेपालको विद्युतीय, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास र प्रविधि हस्तान्तरण गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको हो ।
ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित यस बहुप्रतिक्षित प्रदर्शनीको औपचारिक उद्घाटन अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले गर्ने तय भएको छ । १९९६ देखि निरन्तर आयोजना हुँदै आएको यो प्रदर्शनी नेपालकै विद्युतीय तथा ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित कार्यक्रमको रूपमा स्थापित छ ।
विगत तीन दशकदेखि आयोजना हुँदै आएको यस मेलाले उत्पादक, आयातकर्ता, वितरक, इन्जिनियर र उपभोक्ताहरूलाई एउटै थलोमा ल्याई नवीन प्रविधि र व्यवसायिक अवसरहरूको आदान–प्रदान गर्ने प्रभावकारी मञ्च प्रदान गर्दै आएको छ । विशेषगरी नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई दिएको प्राथमिकता, विद्युत खपत अभिवृद्धि र विद्युतीय सवारीसाधनको प्रवद्र्धन गर्ने लक्ष्यलाई सफल पार्न यस प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने महासंघको विश्वास छ ।
सुरक्षित र गुणस्तरीय विद्युतीय सामग्रीको प्रयोगबारे जनचेतना जगाउनु पनि यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ । यस वर्षको प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका प्रतिष्ठित कम्पनीहरूको उल्लेख्य सहभागिता रहनेछ । मेलामा ट्रान्सवेल्ड, ह्याभेल्स, केईआई, जनता केबल, लेजर इन्डिया, ग्रेटह्वाइट इलेक्ट्रिकल्स, ब्रिलियन्ट एलईडी, बजाज, सिमेन्स, क्रम्पटन जस्ता स्वदेशी तथा बहुराष्ट्रिय ब्राण्डहरूले आफ्ना नवीनतम उत्पादन र अत्याधुनिक प्रविधिहरू प्रदर्शन गर्नेछन् ।
प्रदर्शनीमा ट्रान्समिसन तथा डिष्ट्रिब्युसन प्रणाली, स्मार्ट होम सोलुसन, औद्योगिक स्वचालन, सौर्य ऊर्जा र ई–मोबिलिटीका क्षेत्रमा भएका पछिल्ला आविष्कारहरू अवलोकन गर्न पाइनेछ । प्रदर्शनी अवधिभर विभिन्न अन्तरक्रिया कार्यक्रम, व्यवसायिक भेटघाट र ज्ञानमूलक सत्रहरू समेत सञ्चालन गरिनेछन् । प्रदर्शनीमा देशभरका ५ हजारभन्दा बढी विद्युतीय व्यवसायीसहित करिब २५ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ ।
महासंघले देशभरिका जिल्ला तथा नगरस्तरीय संघहरूको सक्रिय सहभागितालाई प्राथमिकता दिँदै व्यवसायीहरूलाई नवीनतम प्रविधिसँग जोड्ने योजना बनाएको छ ।प्रदर्शनीमा प्रवेश पूर्ण रूपमा निःशुल्क गरिएको छ, तथापि आगन्तुकहरूले डिजिटल लिंक वा क्यूआर कोडमार्फत अनिवार्य पूर्व दर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।
मेलाको व्यवस्थापन मिडिया स्पेस सोलुसन्सले गरिरहेको छ भने नविल बैंक, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, एस।के।बी। ग्रुप, जुलाई टेक ल्याब्स र सजिलो नेट लगायतका संस्थाहरूले विभिन्न विधामा सहयोग गरेका छन् । महासंघले यस राष्ट्रिय महत्वको प्रदर्शनीलाई भव्य रूपमा सफल बनाउन सम्पूर्ण उद्योगी, व्यवसायी, प्राविधिक र आम नागरिकहरूलाई सहभागी हुन आह्वान गरेको छ ।











