बैदेशिक रोजगारीमा जाने श्रमिकसँग कर असुल गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले यही जेठ १५ गतेदेखि बैदेशिक रोजगारीमा जाने श्रमिकहरुसँग १ प्रतिशत कर लिने निर्णय गरेको छ । सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकको बुँदा नं ५ मा बैदेशिक रोजगारीमा जाने हरेक नेपालीहरुले सम्बन्धित म्यानपावर कम्पनीमा तिरेको पैसाको एक प्रतिशत कर असुल गर्ने व्यवस्था गरिएको छ ।
सो व्यवस्था अनुसार हरेक म्यानपावर कम्पनीहरुले अब प्रत्येक महिनाको २५ गते अघिल्लो महिना विदेश पठाएको श्रमिकहरुबाट असुल गरिएको रकमको १ प्रतिशत रकम सरकारी कोषमा दाखिला गर्नुपर्नेछ ।
नयाँ व्यवस्था यही जेठ १५ गतेदेखि नै सुरु भइसकेको छ । नयाँ व्यवस्थासँगै अब विदेश जाने कामदारहरुको लागत रकम केही बृद्धि हुनसक्ने देखिएको छ ।

सरकारले चुनावी घोषणा पत्रमा विदेशमा रहेका नेपालीहरुलाई नेपाल फर्काउने आश्वासन दिएको थियो । रास्वपाले जनाएको प्रतिबद्धता विपरित बैदेशिक रोजगारीमा जाने कामदारहरुसँग कर लगाउने निर्णय गरेको हो ।
अब विदेश जाने नेपाली श्रमिकहरुले नेपाल पैसा पठाउँदा कर तिर्नुपर्नेछ भने नेपालबाट विदेश जाँदा पनि कर तिर्नुपर्ने भएको छ ।
हाल नेपालबाट दैनिक दुई हजार, मासिक ६० हजार सम्म र बार्षिक ७ लाख युवाहरु बैदेशिक रोजगारीको लागि विदेश जाने गर्दछन् । सो तथ्याङ्क अनुसार सरकारले बार्षिक १५ करोड रुपैयाँसम्म मात्रै कर आम्दानी गर्न सक्दछ । बैदेशिक रोजगारी निःशुल्क समेत गरिएकोले कामदारले पैसा तिरेपनि सरकारले कर पाउने सम्भावना न्यून छ ।












