तीन करोडको गरगहना, १५ लाख रुपैयाँ र पैसा गन्ने मेसिन सहित एकजना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर, सुर्खेतले तीन करोड रुपैयाँ बराबरको गरगहना र स्रोत नखुलेको १५ लाख रुपैयाँ सहित एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी ६३ वर्षीय श्याम सुन्दर अग्रवाल (बालाजी) रहेका छन्।
जेठ १८ गते अन्दाजी अपराह्न ४ बजेको समयमा वीरेन्द्रनगर–६ स्थित तल्लो बजारमा रहेको शिव इम्पोरियम नामक कपडा पसलमा भारतीय रुपैयाँ र गरगहना धितो राखी ब्याजमा नगद दिने गरेको सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय र जिप्रका सुर्खेतबाट खटिएको संयु्क्त टोलीले निजलाई नियन्त्रणमा लिएको हो।
खानतलासी गर्दा विभिन्न दरका २ लाख १९ हजार ५०० नेपाली रुपैयाँ र ८ लाख ११ हजार ८०० भारतीय रुपैयाँका साथै विभिन्न किसिमका सुन तथा चाँदीका गरगहना राखिएको बट्टा/पोका र डिब्बा गरी १८५ थान (अनुमानित मूल्य ३ करोड नेपाली रुपैयाँ) र पैसा गन्ने मेसिन समेत बरामद भएको छ।












