भ्रष्टाचारका आरोपीलाई रसुवा भन्सारको प्रमुख बनाइयो, सुशासनकै धज्जी

काठमाडौं । सरकारले रसुवा भन्सार कार्यालयको प्रमुखमा राजेन्द्र प्रसाद ढुंगानालाई सरुवा गर्ने निर्णय गरेको छ । यही जेठ १८ गते अर्थ मन्त्रालयका उप सचिव ढुंगानालाई रसुवा भन्सारको तालाचाबी सुम्पने निर्णय सरकारले गरेको हो । त्यहाँ रहेको तुलसी प्रसाद भट्टराईलाई मन्त्रालयमा तानेर ढुंगानालाई पठाउने निर्णय गएिको छ ।
तर, सरकारको उक्त निर्णय केपी ओली, बिष्णु पौडेल र आरजु राणाको सेटिङ बिर्साउने खालको रहेको पाइएको छ । चीनतर्फबाट सामान आयात गर्ने सबैभन्दा धेरै प्रयोग भइरहेको नाका हो रसुवा । सोही नाकामा भ्रष्टाचारजन्य कार्यमा संलग्न रहेको आरोप लागेको मात्रै नभई विराटनगर भन्सारमा हुँदा साढे चार करोड भन्दा बढि अकूत सम्पत्ति थुपारेको आरोप लागेको व्यक्तिलाई नियुक्त गरेपछि सुशासनप्रतिको बालेन्द्र शाहको प्रतिबद्धतामा नै आँच पुगेको चर्चा भन्सार विभागदेखि अर्थमन्त्रालयसम्म चलिरहेको छ ।
ढुंगानालाई २०७६ साल पुस १८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानुनी रुपमा करोडौं रुपैयाँ सम्पत्ति आर्जन गरेको र सो सम्पत्तिको स्रोत देखाउन नसकेको भन्दै विशेष अदालतमा अभियोग दायरपत्र दायर गरी मुद्दा दर्ता गरेको थियो । रसुवा नाकाको भन्सार प्रमुख बनाइएका ढुंगानाले चार करोड ६८ लाख ४४ हजार ५५६ रुपैयाँ ४५ पैसा रकमको स्रोत देखाउन सकेका थिएनन् ।
२०४९ साल साउन १९ गते निजामति सेवामा प्रवेश गरेका ढुंगानाले २०७५ साल असार मसान्तसम्मको कूल आयव्यय हिसाब गर्दा ७९ लाख ७४ हजार ७९५ रुपैयाँ मात्रै वैधानिक आय मान्न सकिने र बाँकी रकम अकूत ठहर गरी भ्रष्टाचार मार्फत आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरी सो रकम जफत गरी बिगो समेत भराई कैद समेतको माग दावी सहित मुद्दा दर्ता गरेको थियो ।
तर, विशेष अदालतले ढुंगानालाई २०८० बैशाख ८ गते सफाई दिएको थियो । सफाई पाएपछि काममा फर्केका ढुंगाना अहिले पुनः रसुवा नाकाको जिम्मेवारी लिएर हिडेका छन् । यसले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेको सही व्यक्ति सही ठाउँमा छनौट विधि समेत नमिलेको रुपमा हेरिएको छ ।












