नागढुंगा सुरुङमार्गका लागि जापानको थप ५ अर्ब ५० करोड रुपैयाँ ऋण सहयोग

काठमाडौँ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजना सम्पन्न गर्न जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। आयोजना निर्माणका क्रममा बढेको लागत व्यवस्थापन गर्न जापानले ५ अर्ब ७० करोड जापानी येन (करिब ५ अर्ब ५० करोड नेपाली रुपैयाँ) बराबरको अतिरिक्त ऋण सहायता प्रदान गर्ने निर्णय गरेको हो।
यससम्बन्धी समझदारी पत्रमा बुधबार नेपालका लागि जापानी राजदूत माएडा तोरु र नेपाल सरकारका अर्थ सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गरेका छन्। थप ऋण सहयोगसँगै नागढुंगा सुरुङमार्ग आयोजनाका लागि जापानको कुल ऋण सहायता २२ अर्ब ३३ करोड ६० लाख येन पुगेको छ।
यसअघि सन् २०१६ डिसेम्बरमा उक्त आयोजनाका लागि १६ अर्ब ६३ करोड ६० लाख येन ऋण सहयोगसम्बन्धी सम्झौता भएको थियो। तर निर्माण अवधिमा मूल्यवृद्धि, निर्माण सामग्रीको लागतमा भएको वृद्धि तथा अन्य प्राविधिक कारणले आयोजना लागत बढेपछि थप बजेट आवश्यक परेको थियो। सोही आवश्यकतालाई सम्बोधन गर्दै जापान सरकारले अतिरिक्त ऋण सहायता उपलब्ध गराएको हो।
नेपाल–जापान सहकार्यको महत्वपूर्ण पूर्वाधार आयोजनाका रूपमा रहेको नागढुंगा सुरुङमार्गको निर्माण कार्य सन् २०१९ देखि सुरु भएको हो। राजधानी काठमाडौँलाई देशका अन्य भागसँग जोड्ने मुख्य प्रवेशद्वारका रूपमा रहेको नागढुंगा क्षेत्रमा वर्षौंदेखि देखिँदै आएको सवारी जाम र ढुवानी समस्याको दीर्घकालीन समाधानका रूपमा यस आयोजनालाई हेरिएको छ।












